बाढीपीडितका लागि क्षत्री समाज कतारद्वारा रु. ५५,५५५ सहयोग
दोहा, कतार ।
नेपालका विभिन्न जिल्लामा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रवासमा रहेका नेपाली संघ–संस्थाहरू राहत तथा उद्धार अभियानमा सक्रिय भएका छन्।
यसैक्रममा चीनको तिब्बततर्फबाट आएको बाढीका कारण विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेपछि क्षत्री समाज नेपाल, कतारले बाढीपीडितका लागि रु. ५५ हजार ५५५ रुपैयाँ राहत सहयोग गरेको छ।
समाजले संकलन गरेको उक्त राहत रकम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी कतार) लाई हस्तान्तरण गरेको हो। राहत रकम हस्तान्तरण कार्यक्रममा क्षत्री समाज नेपाल कतारका अध्यक्ष गुणराज कटुवालसहित समाजका पदाधिकारी, संरक्षक, सल्लाहकार तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए एनसीसी कतारले विभिन्न नेपाली संघ–संस्थासँग सहकार्य गर्दै राहत अभियान सञ्चालन गरिरहेको छ।
विपत्तिको समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत अभियानमा सहभागी भएको क्षत्री समाजले जनाएको छ। समाजले मानवीय सेवाका लागि सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको छ।
प्रवासमा रहेका नेपाली संघ–संस्थाहरूले मातृभूमिमा आइपरेको विपत्तिमा एकजुट भएर सहयोग गरिरहेका बेला क्षत्री समाज कतारको यो सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापना अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
