बाढीपीडितको राहतका लागि मन्सुरी एकता मञ्च र कुशवाहा समाजद्वारा सहयोग
आशिक हुसैन शेख दोहा, कतार
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एनआरएनए एनसिसी कतारले अघि बढाएको अभियानमा ऐक्यबद्धता जनाउँदै कतारस्थित दुई सामाजिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन्।

मन्सुरी एकता मञ्च नेपालले ३५ हजार ७८६ नेपाली रुपैयाँ र प्रवासी कुशवाहा कल्याण समाज कतारले ३२९ कतारी रियाल सहयोग हस्तान्तरण गरेका हुन्।
मन्सुरी एकता मञ्च कतारका संस्थापक अजाद मन्सुरी, कोषाध्यक्ष आबिद हुसैन तथा संस्थाका सदस्यहरूको उपस्थितिमा उक्त सहयोग रकमको चेक गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीलाई हस्तान्तरण गरिएको छ। त्यस्तै, प्रवासी कुशवाहा कल्याण समाज कतारले पनि बाढीपीडितको सहयोगार्थ ३२९ रियाल एनआरएनए कतारको राहत कोषमा जम्मा गराएको छ।
चेक हस्तान्तरण तथा सहयोग कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कलाम हुसैन खान, धनुषा सेवा समाज कतारका अध्यक्ष जमिर नदाफ, मधेशी एकता कतारका अध्यक्ष अलि अलि हुसेन राइनो,तथा दहेज मुक्त अभियानका रफिक राईन लगायतको उपस्थिति रहेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मन्सुरी एकता मञ्चका संस्थापक अजाद मन्सुरीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले विपत्तिको समयमा पीडित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै अन्य संघसंस्था तथा नेपाली समुदायलाई पनि क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।

दुवै संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को घडीमा पीडितहरूलाई सहायता पुर्याउने उद्देश्यले यो सहयोग गरेको जनाएका छन्। प्राकृतिक विपतिको समयमा प्रवासी नेपाली, स्थानीय समुदाय र संघसंस्थाबीचको सहकार्यले प्रभावित क्षेत्रसम्म राहत पुर्याउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

