भिक्टोरिया ज्वेलर्सद्वारा बाढीपीडितका लागि १० लाख सहयोग, १० युवालाई रोजगारी दिने घोषणा
दोहा, कतार : नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए एनसीसी कतारले सञ्चालन गरेको अभियानमा ऐक्यबद्धता जनाउँदै भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले १० लाख रुपैयाँ सहयोग गरेको छ।

राहत सहयोगसँगै संस्थाले बाढी तथा पहिरो प्रभावित परिवारका १० जना युवा–युवतीलाई रोजगारी उपलब्ध गराउने घोषणा समेत गरेको छ। यससँगै भिक्टोरिया ज्वेलर्सको सहयोग तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना र रोजगारीसँग पनि जोडिएको छ।
बिहीबार साँझ आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा भिक्टोरिया ज्वेलर्सका तर्फबाट सहयोग रकम घोषणा तथा हस्तान्तरण गरिएको हो। उक्त रकम एनआरएनए आईसीसीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद् प्रभावितहरूको राहतका लागि प्रयोग गरिने जनाइएको छ।
कार्यक्रममा भिक्टोरिया ज्वेलर्सका ब्रान्ड प्रवर्धन संयोजक तथा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष रोशन अर्यालले विपद्को समयमा नेपाली समुदायलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। उनले एनआरएनए एनसीसी कतारले अघि बढाएको राहत अभियानमा संस्थाले आफ्नो तर्फबाट सहयोग गरेको उल्लेख गर्दै सहयोग वास्तविक पीडितसम्म पुग्ने विश्वास व्यक्त गरे।
अर्यालले आगामी दिनमा एनआरएनए आईसीसीको पुनर्स्थापना अभियानमा समेत भिक्टोरिया ज्वेलर्स सहभागी हुने बताए। प्रभावित परिवारका लागि घर निर्माण तथा विकट क्षेत्रका विद्यालयलाई सहयोग गर्ने योजना रहेको जानकारी दिँदै उनले नेपाली समुदायलाई संस्थालाई साथ र प्राथमिकता दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले प्रदान गरेको सहयोग शिक्षा, एकल महिला, खाद्यान्न, चिकित्सकीय टोली तथा औषधि लगायतका क्षेत्रमा परिचालन गरिने बताए।
पन्थीले विपद्को कठिन समयमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल अहिले ठूलो संकटमा रहेकाले सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए। उनले सहयोगको आकारभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई राहत अभियानमा जोडिन आह्वान गरे।
यसैबीच, भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले बाढी–पहिरो प्रभावित परिवारका १० जना युवा–युवतीलाई रोजगारी दिने घोषणा गरेका छन्। नेपालमा काठमाडौं शाखा विस्तारको तयारी भइरहेको जानकारी दिँदै उनले प्रभावित परिवारका युवालाई उनीहरूको आवश्यकता र रुचिअनुसार नेपालसँगै दुबई तथा कतारमा समेत रोजगारीको अवसर उपलब्ध गराउने बताए।
आर्थिक सहयोगसँगै रोजगारी सिर्जना गर्ने घोषणालाई कार्यक्रमका सहभागीहरूले दीर्घकालीन पुनर्स्थापनातर्फको सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूले विपद्का कारण रोजगारी तथा आयआर्जन गुमाएका परिवारका युवालाई अवसर उपलब्ध गराउँदा प्रभावित परिवारमा आत्मनिर्भर बन्ने आधार तयार हुने धारणा व्यक्त गरे।
सन् २०१२ देखि सुनचाँदी तथा हिराका गहनाको व्यवसाय गर्दै आएको भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले हाल २०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको जनाएको छ। नेपाली समुदायसँगको सामाजिक तथा व्यावसायिक सम्बन्धलाई निरन्तरता दिँदै विपद्को समयमा पनि सहयोग र सहकार्यलाई प्राथमिकता दिइएको संस्थाको भनाइ छ।
कार्यक्रममा सहभागी वक्ताहरूले विपद्को समयमा नेपाली समुदायको साथमा उभिएको भन्दै भिक्टोरिया ज्वेलर्सप्रति धन्यवाद व्यक्त गरे। उनीहरूले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिने यस्ता कार्यले प्रवासमा नेपाली समुदाय र व्यवसायीबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
