प्रवासी नेपाली मञ्च कतारद्वारा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारको आयोजनामा नेपालमा हालै भएको प्राकृतिक विपद्, बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

 

२०२६ सेप्टेम्बर ३ तारिखमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारका अध्यक्ष अफसर अली खानको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेलको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मञ्चका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो। साथै, अझै बेपत्ता रहेका तथा टनेलभित्र फसेका व्यक्तिहरूको सकुशल उद्धार हुन सकोस् भन्दै खोज तथा उद्धारमा खटिएका सम्पूर्ण टोलीको प्रयास सफल होस् भन्ने प्रार्थना गरिएको थियो।

 

सभाले विपद्को समयमा नेपाल र नेपाली जनताको साथमा उभिएर सहयोग तथा समर्थन गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

 

कार्यक्रममा जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालले भोगिरहेको मानवीय तथा भौतिक क्षतिको विषय अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिइएको थियो। यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोगसँगै उचित क्षतिपूर्तिको जिम्मेवारी लिनुपर्ने विषय उठाउनुभएकोप्रति सभाले धन्यवाद व्यक्त गरेको छ।

 

त्यसैगरी, नेपाल सरकारले सञ्चालन गरिरहेको राहत तथा उद्धार कार्यलाई थप तीव्र, प्रभावकारी र व्यवस्थित बनाउन तथा राहत सामग्री वास्तविक पीडितसम्म यथाशीघ्र पुर्‍याउन आग्रह गरिएको छ।

 

विपद्को समयमा फिल्डमा खटिएर उद्धार तथा राहतमा सक्रिय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै सभाले धन्यवाद व्यक्त गरेको छ।

 

त्यसैगरी, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, भोलिन्टियर फोर्स, जिफन्ट (GEFONT) लगायत विभिन्न संघ–संगठन, स्वयंसेवक तथा राहत तथा उद्धारमा खटिएका सबैप्रति पनि सम्मान तथा आभार व्यक्त गरिएको छ।

 

सभाले विपद्को समयमा पीडित नागरिकको उद्धार, राहत तथा सहयोगमा आ–आफ्नो ठाउँबाट खटिएका सांसद, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक तथा मानवीय संघसंस्था, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा व्यक्तिगत रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति समेत हार्दिक धन्यवाद व्यक्त गरेको छ।

 

कार्यक्रममा आगामी दिनमा यस्ता प्राकृतिक विपद्का कारण पुनः शोकसभा गर्नुपर्ने अवस्था नआओस् भन्ने कामना गर्दै विपद् न्यूनीकरण तथा पूर्वतयारीमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइएको थियो।

 

यसैबीच, दुःखमा परेका नेपाली नागरिकहरूसँग प्रवासी नेपाली मञ्च कतार सँगै रहेको प्रतिबद्धता व्यक्त गर्दै रु. ३ लाख ३३ हजार (तीन लाख तेत्तीस हजार रुपैयाँ) राहत सहयोग गर्ने प्रतिबद्धता समेत घोषणा गरिएको छ।

 

कार्यक्रमको अन्त्यमा मञ्चका सचिव रघुनाथ शर्माले कार्यक्रम तथा संस्थाको तर्फबाट प्रतिबद्धता र धन्यवाद व्यक्त गरेका थिए।