बाढीपीडितलाई राहत दिन महोत्तरी प्रशासनको आग्रह, नगद सहयोगलाई प्राथमिकता

महोत्तरी टुडे     

महोत्तरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति जिल्ला प्रशासन कार्यालय महोत्तरीले गहिरो दुःख व्यक्त गरेको छ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन महोत्तरी प्रशासनले जिल्लास्थित स्थानीय तह, गैरसरकारी संघ–संस्था, निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज तथा आम सर्वसाधारणसँग स्वेच्छिक सहयोगका लागि अपिल गरेको छ।

प्रशासनले विपद् प्रभावित नागरिकको तत्काल आवश्यकता र व्यवस्थापकीय सहजतालाई ध्यानमा राख्दै वस्तुगत सहयोगभन्दा नगद आर्थिक सहयोगलाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ।

प्रशासनका अनुसार नगद सहयोग गर्न चाहने व्यक्ति तथा संघ–संस्थाले रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका आधिकारिक बैंक खातामा मात्र जम्मा गर्नुपर्नेछ। कुनै व्यक्ति वा संस्थाको निजी खातामा नगद संकलन नगर्नसमेत अनुरोध गरिएको छ।

त्यसैगरी, राहत संकलन तथा वितरणलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्न चाहने संघ–संस्था तथा व्यक्तिले जिल्ला प्रशासन कार्यालय, महोत्तरीसँग पूर्वसमन्वय गरी सहयोगको विवरण (दाताको नाम र संकलित विवरण) अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने प्रशासनले जनाएको छ।

वस्तुगत सहयोगका क्रममा अत्यावश्यक खाद्यान्न, त्रिपाल तथा लत्ताकपडाजस्ता सामग्रीलाई प्राथमिकता दिन र प्रयोग भइसकेका पुराना कपडा, कुहिने तथा गुणस्तरहीन सामग्री संकलन नगर्न प्रशासनले आग्रह गरेको छ। त्यस्ता सामग्रीको ढुवानी तथा वितरणसमेत प्रशासनसँग समन्वय गरी गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विपद्को कठिन घडीमा प्रभावित नागरिकको घाउमा मलम लगाउन सबै पक्षबाट सकारात्मक, जिम्मेवार र समन्वयात्मक सहयोगको अपेक्षा गरेको छ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरी

FB_IMG_1788171848020.jpg