प्राकृतिक विपद् पीडितका लागि सोनमा गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग गर्ने घोषणा
D K यादव, महोत्तरी, १४ भदौ ।
महोत्तरीको सोनमा गाउँपालिकाले देशका विभिन्न स्थानमा आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख (एघार लाख रुपैयाँ) सहयोग गर्ने भएको हो।सोनमा गाउँपालिकाका अध्यक्ष श्री बिशेश्वर प्रसाद यादवले रसुवा लगायत देशका विभिन्न भागमा आएको बाढी, पहिरो जस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको मद्दतका लागि उक्त रकम सहयोग गर्ने आधिकारिक घोषणा गर्नुभएको छ।
सहयोगको घोषणा गर्दै अध्यक्ष यादवले भन्नुभयो, "रसुवा लगायत देशका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सोनमा गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख सहयोग गर्ने घोषणा गर्दछु। विपद्को यस कठिन घडीमा मानवताको साथ, सहयोग र सहकार्य नै सबैभन्दा ठूलो शक्ति हो। आऔं, पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा हातेमालो गरौं।"
'मानवता नै हाम्रो धर्म, सेवा नै हाम्रो कर्म' भन्ने मूल नारालाई आत्मसाथ गर्दै सोनमा गाउँपालिकाले विपद्को यो संकटपूर्ण समयमा जनताको साथमा रहेको र भविष्यमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
