सम्सीबाट १५ किलो ८८० ग्राम प्रतिबन्धित गाँजासहित ५ जना पक्राउ

आशिक हुसैन शेख     

सम्सी, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गर्नुका साथै पाँच जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भदौ ४ गते राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरी टोलीले गौशालाबाट सम्सीतर्फ तीव्र गतिमा आउँदै गरेको मोटरसाइकललाई पछ्याउने क्रममा सम्सी गाउँपालिका–६ स्थित गौशाला–सम्सी सडकखण्डमा चेकजाँच गरेको थियो।

 

चेकजाँचका क्रममा प्रहरीले १५ किलो ८८० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार गाँजा विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो।

 

प्रहरीले सम्सी गाउँपालिका–७ का १९ वर्षीय गणित कुमार यादव, औरही नगरपालिका–३ का ३२ वर्षीय मुकेश प्रसाद यादव, १९ वर्षीय अंकुश साह, गौशाला नगरपालिका–११ का २५ वर्षीय अर्जुन महतो र गौशाला नगरपालिका–५ का ४४ वर्षीय विजय महतोलाई पक्राउ गरेको जनाएको छ।

 

बरामद गाँजामध्ये BR30U4425 नम्बरको सीबी १२५ सिसी होन्डा साइन मोटरसाइकलबाट ५ किलो ४६९ ग्राम, BR33AC94 नम्बरको यामाहा प्रो मोटरसाइकलबाट ५ किलो ३७२ ग्राम तथा साह चिया दरबारको पसलभित्र पूर्व दिशातर्फको कोठामा रहेको खाटमुनिबाट ५ किलो ३९ ग्राम गाँजा बरामद गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

त्यसैगरी, गाँजा ओसारपसारमा प्रयोग भएको टाटा सुमो र दुईवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

 

पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

प्रहरीले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

FB_IMG_1787407829533.jpgFB_IMG_1787407844154.jpg