विश्वकर्मा समाज कतारको वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम अगस्ट २८ मा हुँदै
आशिक हुसैन शेख दोहा, कतार । “विश्वकर्माहरूको निकास, सोच, खोज र पहिचानको विकास” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको विश्वकर्मा समाज कतारले आन्तरिक वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।
विश्वकर्मा समाजले आगामी शुक्रबार, २८ अगस्ट २०२६ का दिन दिउँसो १ बजेदेखि सनैया प्लाजा मलस्थित सम्सरा रेस्टुरेन्टको सभाहलमा कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रवासमा रहेका विश्वकर्मा समुदायलाई एकताबद्ध गर्दै सामाजिक सम्बन्ध, आपसी सहयोग, संस्कृति तथा मौलिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले समाजले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको छ। सन् २०१४ मा स्थापना भएदेखि नै संस्थाले कतारमा रहेका विश्वकर्मा समुदायबीच भाइचारा, एकता र सहकार्यको भावना विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
वार्षिक साधारण सभामार्फत संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तथा संस्थाको सामाजिक भूमिकाका विषयमा छलफल गरिने आयोजकले जनाएको छ। साधारण सभासँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएकाले कार्यक्रमले नेपाली कला, संस्कृति र प्रतिभालाई प्रवासमा प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक, संरक्षक, संस्थापक, प्रमुख सल्लाहकार, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरू सहित बुद्धिजीवी, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार तथा कतारमा रहेका सम्पूर्ण विश्वकर्मा समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रवासमा आफ्नो मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएकाले कार्यक्रमलाई केवल मनोरञ्जनको रूपमा नभई समुदायको एकता, पहिचान र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा लिन आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विश्वकर्मा समुदाय तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि अध्यक्ष दिपक विश्वकर्मा ७७२७६३९०
महासचिव दिपक कुमार बि.क. ७४४८५५०८ तथा सचिव अम्बर बराइली ७००९४८३९ मा सम्पर्क गर्न सकिनेछ।
विश्वकर्मा समाज कतारले सबैको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप भव्य, सभ्य र सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
