भारतमा रहेका नेपाली बालबालिकाको कानुनी अधिकार सुनिश्चित गर्न दूतावास र iProbono India बीच समझदारी

महोत्तरी टुडे     

नयाँ दिल्ली । भारतमा विभिन्न कारणले कानुनी तथा संरक्षणसम्बन्धी समस्यामा परेका नेपाली बालबालिकालाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन नेपाली राजदूतावास, नयाँ दिल्ली र iProbono (India) Legal Services बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार भारतमा दुर्व्यवहार तथा शोषणको जोखिममा परेका वा पीडित भएका तथा बाल संरक्षण अथवा फौजदारी न्याय प्रणालीको सम्पर्कमा आएका नेपाली बालबालिकालाई iProbono India ले निःशुल्क कानुनी सहायता उपलब्ध गराउनेछ।

बालबालिकालाई कानुनी सहायता प्रदान गर्नुका साथै उनीहरूको हेरचाह, संरक्षण, पुनःस्थापना, क्षतिपूर्ति तथा अन्य कानुनी हक–अधिकार सुनिश्चित गर्न आवश्यक सहजीकरण र सहयोग समेत गरिनेछ।

भारतका विभिन्न शहरमा रहेका नेपाली बालबालिकाका लागि यो सहकार्यलाई महत्वपूर्ण पहलका रूपमा लिइएको छ। विशेषगरी दिल्ली, बेङ्गलुरु, मुम्बई र लखनउलगायत भारतका अन्य क्षेत्रमा कानुनी सहायता आवश्यक पर्ने नेपाली बालबालिका, उनीहरूका प्रतिनिधि वा अभिभावकले सम्बन्धित निकायमार्फत आवश्यक सहयोग लिन सक्नेछन्।

समझदारीले भारतमा समस्यामा परेका नेपाली बालबालिकालाई कानुनी प्रक्रियामा पहुँच पुर्‍याउनुका साथै उनीहरूको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कानुनी सहायता आवश्यक परे सम्पर्क

सुश्री निमिषा मेनन

कार्यक्रम प्रबन्धक, iProbono India

📧 इमेल: [email protected]

📞 फोन: +91 99534 98838

बालबालिकाको अधिकार र सुरक्षाका लागि गरिएको यो सहकार्यले भारतमा रहेका नेपाली बालबालिकालाई आवश्यक पर्दा निःशुल्क कानुनी सहायता प्राप्त गर्ने बाटो थप सहज बनाउने विश्वास गरिएको छ।

FB_IMG_1786704033308.jpg