पर्सामा ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

महोत्तरी टुडे     

वीरगञ्ज, पर्सा । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६:३० बजे चार जनालाई नियन्त्रणमा लिएको हो।

 

प्रहरीले प्रदेश २–०३–००३ प ७९२५ नम्बरको कालो रंगको सुपर स्प्लेन्डर र ना.७ प ५८२ नम्बरको निलो रंगको FZ मोटरसाइकल रोकी जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको जनाएको छ।

 

पक्राउ पर्नेमा भारत बिहार, जिल्ला सीतामढी, थाना डुमरा वडा नं. ६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–९ का ३२ वर्षीय उपेन्द्र साह, सोही गाउँपालिका–९ का २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा बिन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन्।

 

प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार दरका ४०५ थान, ५०० दरका २३५३ थान, १०० दरका ६४३ थान र ५० दरका ४८ थान गरी जम्मा ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको छ।

 

त्यस्तै, प्रहरीले प्रदेश २–०३–००३ प ७९२५ र ना.७ प ५८२ नम्बरका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

FB_IMG_1786489795784.jpg