साउदीमा अलपत्र नेपाली: १५ वर्षअघिको मुद्दाका कारण सप्तरीका मृगेन्द्र स्वदेश फर्किन सकेनन्
सप्तरी/साउदी अरब — परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर रोजगारीका लागि साउदी अरब पुगेका सप्तरीका मृगेन्द्र कुमार मण्डल अहिले न काम गर्न पाएका छन्, न नेपाल फर्किन नै। पुरानो कानुनी मुद्दाका कारण उनी साउदी अरबमै अलपत्र परेका छन्।
सप्तरीको सुरुङ्गा निवासी मण्डल १५ वर्षअघि साउदी अरबमा गाडी चालकका रूपमा कार्यरत रहेका बेला भएको सडक दुर्घटनासँग सम्बन्धित मुद्दाका कारण अहिले पुनः समस्यामा परेका हुन्। उक्त दुर्घटनामा एक जोर्डनका नागरिकको मृत्यु भएपछि साउदी अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको थियो। उनले पूरा सजाय भुक्तान गरेपछि फाइनल एक्जिटमार्फत नेपाल फर्किएका थिए।
नेपाल फर्किएपछि केही वर्ष गाउँमै मजदुरी गर्दै परिवारको गुजारा चलाएका मण्डल आर्थिक अभावका कारण सन् २०२३ मा पुनः रोजगारीका लागि साउदी अरब गएका थिए। नयाँ कम्पनीमा करिब दुई वर्ष काम गरेपछि सम्झौता समाप्त भई नेपाल फर्किने तयारी गरेका बेला अध्यागमन कार्यालयमा पासपोर्ट जाँचका क्रममा उनीमाथि यात्रा प्रतिबन्ध रहेको जानकारी दिइएको थियो।
अदालतको निर्णयअनुसार मृतकका परिवारलाई करिब ३ लाख ३० हजार साउदी रियाल (झण्डै १ करोड ३३ लाख रुपैयाँ) बराबरको ब्लड मनी (दिया) तिर्नुपर्ने व्यवस्था रहेको र उक्त रकम नतिरेसम्म देश छाड्न नपाइने अवस्था रहेको बताइएको छ।
यसका कारण मण्डल अहिले न नयाँ काम गर्न पाएका छन्, न स्वदेश फर्किन सकेका छन्। उनले नेपाली दूतावासमा पुगेर बसोबास, खानपिन तथा कानुनी सहयोगको माग गरे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। वकिल राखेर आफैँ मुद्दा लड्न सुझाव दिइएको उनले बताएका छन्।
हाल उनी साउदी अरबका सडक र मस्जिदमा आश्रय लिएर दिन बिताइरहेका छन्। यता नेपालमा रहेका उनका परिवारले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग आवश्यक कूटनीतिक र कानुनी पहल गरी मृगेन्द्रको उद्धार तथा स्वदेश फिर्ताको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
यस विषयमा सम्बन्धित सरकारी निकाय वा नेपाली दूतावासको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
