विश्वकर्मा समाज कतार द्वारा कलाकार सम्मान तथा सृजना/प्रतिभा प्रस्तुति कार्यक्रम भव्य रूपमा सम्पन्न

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- विश्वकर्मा समाज कतारको आयोजनामा कलाकार सम्मान तथा सृजना/प्रतिभा प्रस्तुति कार्यक्रम २०२६ भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। समाजका अध्यक्ष दिपक विश्वकर्माको अध्यक्षता तथा दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कतारस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि उपस्थित सम्पूर्णले नेपालको राष्ट्रिय गान गाएका थिए भने राष्ट्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

 

कार्यक्रममा विश्वकर्मा समाज कतार, दलित एकता सञ्जाल कतार, परियार मित्रता समाज कतारका पदाधिकारीहरू, परियार मित्रता समाज महिला विभागका दिदीबहिनीहरू, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, कलाकार, पत्रकार तथा दलित–गैरदलित समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको विशेष आकर्षणका रूपमा कलाकारहरूले गीत, नृत्य, तथा कला र प्रतिभा प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूले उपस्थित दर्शकहरूको मन जित्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक र स्मरणीय बनाएको थियो।

 

यस अवसरमा कला, संस्कृति, सञ्चार तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका विभिन्न कलाकार तथा पत्रकारहरूलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजकले आगामी दिनमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश विश्वकर्माले समाजमा कला, साहित्य, सञ्चार र सामाजिक जागरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि प्रतिभा सम्मान र संरक्षणको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रमको समापनमा अध्यक्ष दिपक विश्वकर्माले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भौतिक, नैतिक र आर्थिक सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, कलाकार, पत्रकार, अतिथि तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

 

विश्वकर्मा समाज कतारले नेपाली कला, संस्कृति, प्रतिभा तथा सामाजिक एकताको प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।