सार्वजनिक सडक अतिक्रमण हटाउन सम्सी गाउँपालिकाको सूचना, अजय कुमार यादवलाई ७ दिनभित्र संरचना हटाउन निर्देशन

महोत्तरी टुडे     

महोत्तरी टुडे समाचारदाता सम्सी, महोत्तरी | असार ३ गते

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाले सार्वजनिक सडक तथा नाला निर्माणसँग सम्बन्धित विवाद समाधानका लागि सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्रभित्र परेका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार सार्वजनिक सडक अतिक्रमण सम्बन्धी विषयमा आवश्यक प्राविधिक अध्ययन तथा नापजाँचपछि निर्णय गरिएको हो।

गाउँपालिका अध्यक्ष रामनाथ यादवद्वारा जारी सूचनामा वडा नं. ४ का वडा अध्यक्ष सखिव यादवको सिफारिस तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको आदेशबमोजिम नापी कार्यालय जलेश्वरबाट खटिएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गरेको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनका आधारमा साविक गेँठा भेटपुर वडा नं. ४, ७ र ८ को सीमाक्षेत्रमा पर्ने सार्वजनिक बाटोसँग सम्बन्धित विवादमा आवश्यक मापन तथा अध्ययन सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। प्रतिवेदनले सार्वजनिक सडक क्षेत्रभित्र केही संरचना परेको देखाएकाले कानुन तथा प्रचलित मापदण्डअनुसार ती संरचना हटाउने निर्णय गरिएको हो।

गाउँपालिकाका अनुसार प्राविधिक प्रतिवेदनले अजय कुमार यादवको घरको केही भाग सार्वजनिक सडक क्षेत्रभित्र परेको देखाएको छ। सोही आधारमा सम्बन्धित संरचना हटाई सार्वजनिक बाटो खुला गर्न निर्देशन दिइएको हो। गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सार्वजनिक सडक क्षेत्रमा परेका सम्पूर्ण संरचना स्वयं हटाई बाटो खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

तोकिएको अवधिभित्र संरचना नहटाइएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, सडक विस्तार तथा सर्वसाधारणको सहज आवागमन सुनिश्चित गर्न यस्तो कदम चालिएको गाउँपालिकाले जनाएको छ।

यस सम्बन्धी निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा सशस्त्र प्रहरी बललाई समेत पठाइएको छ। स्थानीय तहले सार्वजनिक सडक अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कार्यलाई गति दिन सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।

सम्सी गाउँपालिकाले सार्वजनिक हितलाई सर्वोपरि राख्दै सार्वजनिक सडक, नाला तथा अन्य पूर्वाधार क्षेत्रको संरक्षणमा सहयोग गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ।

received_4576073429300328.jpeg