साउदी अरेबिया जान अब सिप परीक्षण अनिवार्य, असफल भए श्रम स्वीकृति नपाइने

महोत्तरी टुडे     

काठमाडौं— वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप परीक्षण अनिवार्य गरिएको छ। बुधबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सिप परीक्षणमा उत्तीर्ण नभएका श्रमिकले अब साउदीका लागि श्रम स्वीकृति पाउने छैनन्।

 

साउदी सरकारले श्रम भिसा प्रक्रियालाई व्यवस्थित र दक्ष जनशक्ति सुनिश्चित गर्न ‘स्किल्स भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) लागू गरेको हो। यस अन्तर्गत श्रमिकले आफ्नो सीप प्रमाणीकरण गराउनुपर्नेछ।

 

सिप प्रमाणीकरणका लागि श्रमिकहरूले अनलाइन प्रणालीमार्फत आवश्यक कागजात तथा प्रमाणपत्र पेश गर्नुपर्नेछ। यस प्रक्रियाका लागि परीक्षा शुल्क ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता (आरपीएल) शुल्क ५० अमेरिकी डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) तिर्नुपर्ने व्यवस्था गरिएको छ।

 

नयाँ नियम लागू भएसँगै साउदी जान इच्छुक श्रमिकले अनिवार्य रूपमा सिप परीक्षण पास गर्नुपर्नेछ। अन्यथा उनीहरूको श्रम स्वीकृति प्रक्रिया अघि बढ्ने छैन।