महोत्तरीमा जिल्ला बाल क्लब सञ्जाल गठन, रितिक शर्मा अध्यक्ष चयन
महोत्तरी,"बालबालिकाको सहभागिता सुनिश्चित गरौँ, बालमैत्री समाज निर्माण गरौँ" भन्ने मूल नारासहित महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहका बालबालिकाको प्रतिनिधित्व रहने गरी महोत्तरी जिल्ला बालक्लब सञ्जाल गठन गरिएको छ।

बालअधिकार संरक्षण, नेतृत्व विकास तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाभरका बाल प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन सत्र जिल्ला समन्वय समिति महोत्तरीका शाखा अधिकृतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रतिनिधि, सोनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मेन्द्र कुमार यादव तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले बालबालिकालाई भविष्यका नागरिक मात्र नभई वर्तमानका सक्रिय साझेदारका रूपमा स्वीकार गर्दै उनीहरूको विचार, भावना र सुझावलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। बालबालिकाको क्षमता विकास र सहभागिताले समाजलाई थप समावेशी, उत्तरदायी तथा बालमैत्री बनाउन सकिने उनीहरूको भनाइ थियो।
कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहबाट एक बालक, एक बालिका तथा सम्बन्धित पालिकाका प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागी बालबालिकाले आफ्नो स्थानीय तहमा रहेका बालअधिकारसम्बन्धी चुनौती, अवसर तथा आगामी योजनाबारे अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रमको बन्द सत्रबाट सर्वसम्मत रूपमा १७ सदस्यीय महोत्तरी जिल्ला बालक्लब सञ्जाल गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा रितिक शर्मा, उपाध्यक्षमा कन्हैया साह, महिला उपाध्यक्षमा जागृति राज चौधरी, सचिवमा इशिका ढुंगेल तथा सहसचिवमा अनिकेत कुमार मण्डल चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सोनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मेन्द्र कुमार यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो। सपथ ग्रहण गराउँदै उनले बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा बालअधिकार संरक्षणमा सञ्जालले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका सहभागीहरूले सञ्जाल गठनसँगै जिल्लाभरका बालबालिकाको साझा आवाजलाई संस्थागत गर्ने, बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी पहल गर्ने र स्थानीय तहदेखि जिल्लास्तरसम्म बालमैत्री नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
साथै बालविवाह, बालश्रम, हिंसा तथा विभेदविरुद्ध जनचेतना फैलाउने, विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्ने तथा बाल सहभागितालाई व्यवहारमै कार्यान्वयन गर्न सञ्जालले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यस कार्यक्रमको सम्पूर्ण सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी रतौली युवा क्लब ले निर्वाह गरेको जानकारी दिइएको छ। राजेश पाण्डेका अनुसार, बालबालिकाको सहभागिता सुनिश्चित गर्दै उनीहरूको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिएको हो।
उहाँले आगामी दिनमा पनि बालअधिकार, बाल संरक्षण तथा बालमैत्री समाज निर्माणका अभियानमा रतौली युवा क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। बालबालिकालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै उनीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।
महोत्तरीका बालबालिकाको नेतृत्व विकास र अधिकार सुनिश्चितताका लागि गठन गरिएको यो सञ्जालले आगामी दिनमा बालअधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा बालमैत्री समाज निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
