अमेरिकाबाट भारत फर्किंदै अभिजित दीपके, जुन ६ मा दिल्लीमा ‘ककरोच जनता पार्टी’ को शान्तिपूर्ण प्रदर्शन
नयाँ दिल्ली/अमेरिका । सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय बनेको ‘Cockroach Janta Party (CJP)’ का संस्थापक अभिजित दीपके जुन ६ मा भारत फर्किएर राजधानी नयाँ दिल्लीमा शान्तिपूर्ण प्रदर्शनको नेतृत्व गर्ने भएका छन्। आन्दोलनको मुख्य उद्देश्य शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विवाद, परीक्षा प्रणालीमा देखिएका समस्याहरू तथा जवाफदेहिताको माग रहेको जनाइएको छ।
हाल अमेरिकामा रहेका दीपकेले भिडियो सन्देशमार्फत हजारौं युवाहरूले सामाजिक सञ्जाल, फोन तथा सन्देशमार्फत आन्दोलनलाई समर्थन गरिरहेको बताएका छन्। विभिन्न विद्यार्थी संगठनहरूले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उनको दाबी छ।
दीपकेका अनुसार उनी जुन ६ को बिहान दिल्ली विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि आन्दोलनकारीहरू संसद मार्ग प्रहरी कार्यालय (Parliament Street Police Station) पुगेर जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शनका लागि आवश्यक अनुमति माग्ने योजना रहेको छ।
प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक दायराभित्र सञ्चालन गरिने बताइएको छ। सहभागीहरूलाई संयमित, जिम्मेवार र अहिंसात्मक व्यवहार गर्न आग्रह गरिएको छ। आन्दोलनलाई बदनाम गर्ने वा अशान्ति फैलाउने कुनै गतिविधिमा संलग्न नहुन आयोजकहरूले चेतावनी दिएका छन्।
आयोजकहरूले यो आन्दोलन कुनै राजनीतिक दल विशेषको नभई सम्पूर्ण युवापुस्ताको साझा आवाज भएको बताएका छन्। सत्तारुढ दल, विपक्षी दल तथा विभिन्न विचारधाराका नागरिकलाई व्यक्तिगत रूपमा सहभागी हुन स्वागत गरिएको भए पनि कुनै पनि राजनीतिक झण्डा वा ब्यानर नल्याउन अनुरोध गरिएको छ।
सुरुमा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको ककरोच जनता पार्टी हाल सामाजिक सञ्जालमा करोडौं फलोअर भएको युवा आन्दोलनका रूपमा विकसित भएको छ। अभिजित दीपके नेतृत्वको यो अभियानले शिक्षा, बेरोजगारी तथा युवासँग सम्बन्धित विषयहरूलाई प्रमुख मुद्दा बनाउँदै आएको छ।
