महोत्तरीको सोनमामा चोरी गर्न आएका समूहको गोली लागेर श्रीमान्–श्रीमती घाइते
महोत्तरी- महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा मंगलबार मध्यराति चोरी गर्न आएका हतियारधारी समूहले गोली चलाउँदा एक दम्पती घाइते भएका छन्। स्थानीयवासीका अनुसार ५/६ जनाको समूह घरभित्र प्रवेश गरी चोरी तथा लुटपाटको प्रयास गरिरहेको अवस्थामा घरधनीले प्रतिवाद गरेपछि गोली प्रहार भएको हो।
गोली लागेर स्थानीय २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएका छन्। दुवै जनालाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीका अनुसार चोरीको उद्देश्यले घरमा प्रवेश गरेका समूहलाई रोक्ने क्रममा तनाव उत्पन्न भएको थियो। त्यसपछि आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको बताइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ भने घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्।
स्थानीय बासिन्दाले पछिल्लो समय गाउँ क्षेत्रमा चोरी र आपराधिक गतिविधि बढ्दै गएको भन्दै सुरक्षाको माग गरेका छन्। घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले आसपासका क्षेत्रमा निगरानी बढाउनुका साथै फरार समूहको खोजी तीव्र पारेको जनाएको छ।
