कतारलाई गलत रूपमा प्रस्तुत गर्ने भिडियो नबनाउन नेपाली समुदायलाई आग्रह
दोहा, कतार । कतारमा रहेका नेपाली समुदायका सामाजिक अभियन्ता गुणराज कटुवाल ले सामाजिक सञ्जालमा कतारलाई गलत रूपमा प्रस्तुत गर्ने सामग्री पोस्ट नगर्न नेपाली समुदायलाई आग्रह गरेका छन्।
उनले एक भिडियो सन्देशमार्फत कतारको अल अजिजियास्थित फाइभ स्टार बुटिक होटल लगायतका आकर्षक स्थानहरूमा पुगेर केही व्यक्तिहरूले टिकटक तथा अन्य सामाजिक सञ्जालमा भिडियो बनाउने क्रममा “यो कतार होइन, युरोप हो” भन्ने आशयका क्याप्सन राख्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
कटुवालका अनुसार कतिपय व्यक्तिहरूले भिडियो पोस्ट गर्दा कतारको नाममा क्रस चिन्ह लगाउने र युरोपलाई प्राथमिकता दिने शैली अपनाएको देखिएको छ, जसले कतारको छवि तथा प्रतिष्ठामाथि नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। उनले यस्ता गतिविधिले कानुनी जटिलता समेत निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
उनले प्राप्त जानकारीअनुसार यस्तै प्रकृतिका सामाजिक सञ्जाल सामग्रीका कारण केही नेपाली नागरिकहरू कानुनी समस्यामा परेको चर्चा समेत गरेका छन्। त्यसैले भविष्यमा कसैले पनि यस्ता गतिविधिबाट समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले आफूले सचेतनामूलक भिडियो सन्देश सार्वजनिक गरेको उनले बताएका छन्।
“हामी रोजगारी, व्यवसाय तथा राम्रो भविष्यको खोजीमा कतार आएका छौं। हामी बसेको देशको सम्मान गर्नु हाम्रो कर्तव्य हो। सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा स्थानीय कानुन, देशको प्रतिष्ठा र सामाजिक जिम्मेवारीलाई ध्यान दिन आवश्यक छ,” कटुवालले बताएका छन्।
उनले सम्पूर्ण नेपाली समुदायलाई यस्ता भिडियोहरू नबनाउन तथा कतारलाई अपमानित हुने किसिमका क्याप्सन प्रयोग नगर्न आग्रह गर्दै यो सन्देशलाई धेरैभन्दा धेरै नेपालीहरूमाझ पुर्याउन अनुरोध गरेका छन्।
साथै उनले साथीभाइ, आफन्त तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत सचेत गराउँदै जिम्मेवार ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न अपिल गरेका छन्। कतारमा बसोबास गर्ने नेपाली समुदायले स्थानीय कानुन तथा सामाजिक मर्यादाको सम्मान गर्दै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ रहेको छ।
