महोत्तरीको सम्सीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
महोत्तरी, जेठ १९गते- महोत्तरीको सम्सी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर महोत्तरीको आयोजनामा सञ्चालन हुन लागेको शिविरमा काठमाडौंस्थित ए.पि.एफ. अस्पताल बलम्बु तथा जनकपुरधामस्थित जानकी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार शिविर २०८३ जेठ २३ गते शनिबार बिहान ८:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। शिविर श्री जनता माध्यमिक विद्यालय, सम्सी महोत्तरी (निर्माणाधीन भवन), सम्सी गाउँपालिका–७, महोत्तरी मा आयोजना गरिनेछ।
शिविरमा हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग, दन्तरोग, चर्मरोग, जनरल मेडिसिन, जनरल सर्जरी तथा प्रयोगशाला सम्बन्धी स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ।
विशेषज्ञ चिकित्सकहरूको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट सम्सी गाउँपालिकासहित आसपासका क्षेत्रका हजारौं नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण जिल्लावासीलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेको छ।
