लिखतसम्बन्धी कसुरमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

महोत्तरी टुडे     

वीरगञ्ज, जेठ १९ — लिखतसम्बन्धी कसुरको मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साबाट जारी पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

मेयर सिंहविरुद्ध नक्कली कागजातको प्रयोग गरी अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता तथा राहदानीसम्बन्धी कागजात तयार गरिएको आरोप छ। सोही विषयमा परेको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले अनुसन्धानका लागि पक्राउ अनुमति दिएको थियो।

प्रहरी स्रोतका अनुसार मेयर सिंहसहित अन्य केही व्यक्तिविरुद्ध पनि लिखत किर्ते तथा सरकारी कागजातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यस प्रकरणमा नागरिकता प्राप्तिका लागि झुट्टा विवरण पेश गरिएको आरोप लगाइएको छ।

यसअघि पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीले दर्ता गराएको उजुरीका आधारमा अदालतले अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मेयर सिंहको पक्राउसँगै मधेस प्रदेशको राजनीतिक वृत्तमा समेत यस विषयले व्यापक चर्चा पाएको छ।