नेपालमा जेठ १४ गते बिहीबार ईद–उल–अजहा बकर ईद मनाइने।

महोत्तरी टुडे     

काठमाडौं — नेपालमा मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद–उल–अजहा (बकर ईद) यस वर्ष बिहीबार मनाइने भएको छ। काठमाडौंस्थित दारुल इफ्ता वल कजा नेपाली जामा मस्जिदले आइतबार सूचना जारी गर्दै नेपालमा जेठ १४ गते बिहीबार ईद पर्ने जनाएको हो।

 

जारी सूचनाअनुसार आइतबार साँझ जुल–हिज्जा महिनाको चन्द्रमा हेर्ने प्रयास गरिएको भए पनि नेपाल तथा नेपालसँग जोडिएका भारतका कुनै पनि क्षेत्रमा चन्द्रमा नदेखिएको उल्लेख गरिएको छ। त्यसैले सोमबार जुल–काइदा महिनाको ३० दिन पूरा हुने र मंगलबारदेखि जुल–हिज्जा महिना सुरु हुने जनाइएको छ।

 

मस्जिदले जुल–हिज्जाको १०औँ दिन अर्थात् जेठ १४ गते बिहीबार नेपालभर ईद–उल–अजहा मनाइने स्पष्ट पारेको छ।

 

यसअघि साउदी अरबले भने जुल–हिज्जाको चन्द्रमा देखिएको घोषणा गर्दै अराफात दिवस मंगलबार र ईद–उल–अजहा बुधबार मनाइने जनाएको थियो। नेपालमा भने चन्द्र दर्शनको आधारमा इस्लामिक महिनाको गणना हुने भएकाले पर्वहरू प्रायः साउदी अरबभन्दा एक दिनपछि मनाइने गर्छ।

 

ईद–उल–अजहा इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वमध्ये एक हो। यस पर्वमा मुस्लिम समुदायले हजरत इब्राहिम (अलैहिस्सलाम) को त्याग र समर्पणको सम्झनामा कुर्बानी दिने परम्परा निभाउने गर्छन्। पर्वका अवसरमा विशेष नमाज अदा गर्ने, शुभकामना आदानप्रदान गर्ने तथा आफन्त र गरिब–दुःखीलाई सहयोग गर्ने चलन रहेको छ।

IMG-20260517-WA0079.jpg