लामो विवादपछि एनआरएनए कतार एकीकृत, कृष्ण पन्थी अध्यक्ष चयन
आशिक हुसैन शेख दोहा, कतार-
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारभित्र करिब १० महिनादेखि जारी आन्तरिक विवाद अन्ततः टुंगिएको छ। लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई अलग कार्यसमिति औपचारिक रूपमा एकीकृत भएपछि कतारस्थित नेपाली समुदायमा नयाँ आशा र उत्साह पैदा भएको छ। दोहामा आयोजित विशेष एकता सभामार्फत दुवै पक्षले आपसी मतभेद अन्त्य गर्दै संस्थागत एकताको घोषणा गरेका हुन्।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माको रोहबरमा यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्दै आयोजित सभाले कृष्ण पन्थीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। समानान्तर रूपमा नेतृत्व गरिरहेका अध्यक्ष पदम गिरीलाई भने आईसीसीले आगामी दिनमा उपयुक्त जिम्मेवारी दिने जनाइएको छ।

नयाँ एकीकृत कार्यसमितिअन्तर्गत महासचिवमा शिव भुजेल र कोषाध्यक्षमा प्रेम बस्नेत चयन भएका छन्। त्यसैगरी अर्को समूहका महासचिव विवेक पुलामी मगरलाई उपाध्यक्ष तथा कोषाध्यक्ष कबिन्द्र कँडेललाई सचिव पदको जिम्मेवारी दिइएको छ। दुवै पक्षका अन्य पदाधिकारीहरूलाई समेत समेटेर समावेशी ढंगले कार्यसमिति गठन गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कृष्ण पन्थीले विगतमा आईसीसीभित्र देखिएको विभाजनको असर कतारको एनसीसीसम्म आइपुगेको स्वीकार गरे। उनले अब सबै मतभेदलाई अन्त्य गर्दै एकताबद्ध भएर नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“अब एनआरएनए एनसीसी कतार सदाका लागि एक भएको छ। हामी सबै मिलेर प्रवासी नेपालीको हक, हित, सामाजिक सेवा र समुदायको एकताका लागि अझ प्रभावकारी ढंगले काम गर्नेछौँ,” उनले भने।

कार्यक्रममा सहभागी विभिन्न सामाजिक अभियन्ता, पूर्व पदाधिकारी तथा नेपाली समुदायका अगुवाहरूले संस्थागत एकताको आवश्यकता औँल्याउँदै विगतका मतभेद बिर्सेर सबैलाई समेट्दै अघि बढ्नुपर्ने धारणा राखे। विशेषगरी कतारमा कार्यरत नेपाली श्रमिकहरूको अधिकार संरक्षण, आपत्कालीन सहयोग, सामाजिक सुरक्षा र संस्थागत मजबुतीका विषयमा अब एकीकृत रूपमा काम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

दुवै कार्यसमितिबीच समन्वय र सहमतिको वातावरण बनाउन मध्यपूर्व उपसंयोजक करिम बक्स मियाले खेलेको भूमिकाको कार्यक्रममा खुलेर प्रशंसा गरिएको थियो। सहभागीहरूले लामो समयदेखि जटिल बनेको विवाद समाधानतर्फ उनको पहल निर्णायक बनेको बताए।

त्यसैगरी, पछिल्लो १० महिनाको अवधिमा दुवै एनसीसीले गरेका गतिविधि, आर्थिक अवस्था तथा संस्थागत निर्णयहरूको अध्ययन गर्न आईसीसीका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष सागर नेपालको संयोजकत्वमा सात सदस्यीय छानबिन तथा अध्ययन समिति गठन गरिएको जानकारी दिइयो। उक्त समितिले दुवै पक्षका गतिविधिको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताइएको छ।

एकता सभाको अवसरमा कतारमा हालै सम्पन्न ‘वर्कर्स फुटबल कप–२०२६’ मा सहभागी विभिन्न नेपाली फुटबल क्लबहरूलाई पनि सम्मान गरिएको थियो। आयोजकहरूले खेलकुदले नेपाली समुदायबीच एकता, भाइचारा र सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले एनआरएनएभित्रको विभाजनका कारण विगतमा राजदूतावासलाई समेत समन्वय गर्न कठिनाइ भएको बताए। उनले अब एकीकृत नेतृत्वसँग सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

“कतारमा रहेका नेपाली श्रमिकहरूको हक, हित र समस्याका विषयमा राजदूतावास र एनआरएनएबीच विगतदेखि सहकार्य हुँदै आएको छ। अब यो सहकार्यलाई अझ मजबुत बनाइनेछ,” राईले बताए।

अध्यक्ष पदम गिरीले पनि समय र परिस्थितिका कारण फरक धारमा उभिनुपरेको भए पनि अन्ततः सबै एकतामा बाँधिएको उल्लेख गरे। उनले विगतका घटनालाई नकारात्मक रूपमा व्याख्या नगर्न आग्रह गर्दै नयाँ नेतृत्वले नेपाली श्रमिकहरूको पक्षमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कतारमा सक्रिय विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूले एनआरएनए एनसीसी कतारको एकता घोषणाले सम्पूर्ण नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। लामो समयदेखिको विवाद अन्त्यसँगै अब एनआरएनए कतार अझ सशक्त, व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढ्ने अपेक्षा समुदायले गरेको छ।
