एनआरएनए–एनसीसी कतारको एकता घोषणा कार्यक्रम शुक्रबार हुने

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए,एनसीसी) कतारले लामो समयदेखि देखिँदै आएको संस्थागत विभाजन र समानान्तर गतिविधिलाई अन्त्य गर्दै ऐतिहासिक एकताको निर्णायक चरणमा पुगेको जनाएको छ। आपसी सहमति, समन्वय र सहकार्यको भावनासहित अघि बढाइएको एकता प्रक्रिया सफल निष्कर्षमा पुगेपछि “एनसीसी एकता घोषणा कार्यक्रम” आयोजना गर्न लागिएको हो।

एनआरएनए–एनसीसी कतारका महासचिव शिव भुजेल द्वारा जारी विज्ञप्तिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–आईसीसी) मा सम्पन्न बृहत एकताको सकारात्मक प्रभाव कतारमा पनि परेको उल्लेख गरिएको छ। सोही भावना अनुरूप कतारमा सक्रिय दुवै पक्षबीच निरन्तर संवाद, सहकार्य र विभिन्न चरणका छलफल सम्पन्न भएपछि संस्थागत एकताको वातावरण निर्माण भएको महासचिव शिव भुजेलले महोत्तरी टुडे लाई जानकारी दिनुभयो को छ।

विज्ञप्तिअनुसार पछिल्लो समय देखिएको आन्तरिक मतभेद, समानान्तर गतिविधि तथा विभाजनले कतारस्थित नेपाली समुदायमा अन्योल सिर्जना गरिरहेको अवस्थामा अब एकतामार्फत संस्थालाई थप मजबुत, प्रभावकारी र समुदायमुखी बनाउने लक्ष्य लिइएको छ। एनआरएनए–एनसीसी कतारले नेपाली समुदायको साझा हित, आपसी सद्भाव, सहकार्य र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै सबै पक्षलाई एकताबद्ध बनाउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ।

यसैबीच “एनसीसी एकता घोषणा कार्यक्रम” आगामी १५ मे २०२६ शुक्रबार दिनको १ बजे अलतिया स्थित फुलबारी रेष्टुरेन्ट को सभाहलमा आयोजना हुने तय गरिएको छ। कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार, पञ्जीकृत सदस्य तथा कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदाय तथा दिदीबहिनीहरु लाई सहभागी हुन आग्रह गरिएको छ।

एनआरएनए–एनसीसी कतारले जारी गरेको निमन्त्रणामा नेपाली समुदायको एकता र साझा जिम्मेवारीलाई बलियो बनाउन कार्यक्रम महत्वपूर्ण अवसर हुने उल्लेख गरिएको छ। साथै सबैको सक्रिय सहभागिताले कार्यक्रमलाई थप ऐतिहासिक, भव्य र उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गरिएको छ।

कतारमा कार्यरत नेपाली समुदायबीच लामो समयदेखि अपेक्षा गरिएको संस्थागत एकता अब व्यवहारिक रूपमा कार्यान्वयनको चरणमा पुगेको भन्दै विभिन्न सामाजिक अभियन्ता तथा समुदायका अगुवाहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले एकीकृत एनआरएनएले आगामी दिनमा नेपाली श्रमिक, व्यवसायी तथा समग्र प्रवासी नेपाली समुदायका हकहितका विषयमा अझ प्रभावकारी ढंगले काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

एनआरएनए–एनसीसी कतारले विगतदेखि नै श्रमिक सहायता, सामाजिक सेवा, उद्धार, परामर्श तथा नेपाली समुदायका विभिन्न गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको छ। संस्थागत एकतापछि ती गतिविधिहरू अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।