एसईई २०८२ मा उत्कृष्ट नतिजा : श्री जागेश्वर गहराई जनता नमुना माविले फेरि बनायो इतिहास

आशिक हुसैन शेख     

लहान, वैशाख ३० सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय (प्राविधिक धार) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै पुनः एकपटक आफ्नो नाम स्वर्ण अक्षरमा लेखाउन सफल भएको छ। हालै सार्वजनिक भएको नतिजामा विद्यालयका विद्यार्थीहरूले उच्च GPA ल्याउँदै विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गरेका छन्।

यसपटकको नतिजा केवल अंकको प्रतिस्पर्धा मात्र नभई विद्यालयले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीमैत्री शिक्षण प्रणालीको प्रतिफलका रूपमा हेरिएको छ। विद्यालय दक्षिण सीमावर्ती क्षेत्र तथा दसगज्जा नजिकैको शान्त वातावरणमा अवस्थित रहेकाले अध्ययनका लागि अनुकूल वातावरण बनेको विद्यालय प्रशासनको भनाइ छ। विद्यालयमा कार्यरत दक्ष शिक्षकहरूको निरन्तर मार्गदर्शन, नियमित अनुगमन तथा आधुनिक शिक्षण पद्धतिका कारण विद्यार्थीहरूले जटिल विषयमा समेत राम्रो सफलता हासिल गर्न सकेको बताइएको छ। विद्यालयका प्रधानाध्यापक भोला यादव ले यसपटकको नतिजा विद्यालयका लागि उत्साहजनक उपलब्धि भएको बताए।

उनले भने, “यो विद्यालयका लागि पहिले अनौठो जस्तै परिणाम थियो, तर अब आउने दिनमा सतप्रतिशत नतिजातर्फ विद्यालय अघि बढ्ने संकेत देखिएको छ।” प्रधानाध्यापक यादवका अनुसार आफू विद्यालयमा आउनुभन्दा अघि यस्ता नतिजा विरलै आउने गरेका थिए। २०२७ सालमा स्थापना भएको यो विद्यालय क्षेत्रकै पुरानो तथा प्रतिष्ठित विद्यालयमध्ये एक भए पनि विगतमा केही गैरजिम्मेवार नेतृत्वका कारण विद्यालयको शैक्षिक अवस्था कमजोर बनेको उनले दुखेसो पोखे। विद्यालय प्रशासनले प्रतिक्रिया दिँदै भनेको छ, “यो सफलता मेहनती विद्यार्थी, समर्पित शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको सामूहिक प्रयासको प्रतिफल हो।

आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहनेछ।” पूर्व–पश्चिम हुलाकीमार्गको दक्षिण सीमासँगै जोडिएको यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्थानीय अभिभावकहरूको भनाइ छ। पछिल्ला वर्षहरूमा विद्यालयले सुधारिएको शैक्षिक वातावरण, अनुशासन र नतिजाका कारण अभिभावकमाझ भरोसायोग्य शैक्षिक केन्द्रको पहिचान बनाउन सफल भएको छ। विद्यालयबाट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरिएको छ।