हेल्थ कार्ड खारेज, कतारमा स्वास्थ्य सेवामा नयाँ व्यवस्था,कतारी आईडीबाटै सेवा लिन सकिने।
दोहा कतार- कतार सरकारले स्वास्थ्य सेवामा महत्वपूर्ण डिजिटल सुधार लागू गरेको छ। अबदेखि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सेवा लिन हेल्थ कार्डको सट्टा कतारी राष्ट्रिय परिचयपत्र (QID) प्रस्तुत गरे पुग्ने भएको छ।
Ministry of Public Health Qatar का अनुसार, यो निर्णयसँगै सेवाग्राहीहरूले अलग हेल्थ कार्ड बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य भएको छ। Hamad Medical Corporation र Primary Health Care Corporation लगायतका स्वास्थ्य संस्थाहरूमा QID नै आधिकारिक परिचयको रूपमा मान्य हुनेछ।
तर, मन्त्रालयले स्पष्ट पारेको छ कि हेल्थ कार्डको वार्षिक नवीकरण शुल्क भने यथावत रहनेछ। अर्थात्, कार्ड अनिवार्य नभए पनि सम्बन्धित शुल्क तिर्ने व्यवस्था जारी रहनेछ।
यस निर्णयले स्वास्थ्य सेवा प्रणालीलाई अझ सरल, छिटो र डिजिटल बनाउने लक्ष्य राखेको छ। यसबाट सेवाग्राहीलाई सहज पहुँच, छिटो सेवा र कम कागजी झन्झट हुने विश्वास गरिएको छ।

