तौलभन्दा बढी केराउ भेटिएपछि पिकअप गाडी नियन्त्रणमा।
महोत्तरी टुडे, महोत्तरी, २३ चैत — महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित शिव मन्दिर नजिकको सडक खण्डमा प्रहरीले बिल/बिजक अनुसार नभएको तथा तौलभन्दा बढी केराउ बोकेको पिकअप गाडी नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब १ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च १९०४ नम्बरको पिकअप गाडीलाई रोकी नियमित चेकजाँच गरेको थियो। जाँचका क्रममा गाडीमा रहेको सामानको अनलाइन बिल र प्यान बिल हेर्दा १००० किलो चना र ८०० किलो केराउ उल्लेख गरिएको देखिएको थियो।
तर, प्रहरीले वास्तविक तौल जाँच गर्दा बिलमा उल्लेख भएअनुसारको सामान नभई तौलभन्दा बढी केराउ फेला परेको जनाएको छ। गाडीमा ७६ बोरा केराउ (प्रति बोरा ३० केजी) लोड गरिएको पाइएपछि उक्त सामान शंकास्पद देखिएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको केराउ र पिकअप गाडीको अनुमानित मूल्य रु. ११ लाख ५९ हजार ६ सय रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त सामान तथा सवारी साधन इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको थियो।
पछिल्लो चरणमा, मंगलबार (२२ चैत) आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि सम्पूर्ण बरामद सामग्री जलेश्वर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारवाही हुने प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पछिल्लो समय बिल/बिजक मिलान नगरी अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि बढ्दै गएको भन्दै यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारण तथा व्यवसायीहरूलाई सचेत गराएको छ।

