नेपाल–भारत सीमामा अतिक्रमण हटाउने अभियान।
महोत्तरी टुडे: राजस्व तथा भूमि सुधार विभागको निर्देशनमा बुधबार स्थानीय प्रशासन, एसएसबी र नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त सहकार्यमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्थित नो म्यान्स ल्यान्ड क्षेत्रमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ।
उक्त अभियानमा जयनगरका एसडीपीओ राघव दयाल, प्रभारी अंचलाधिकारी तथा बीडीओ राजीव रंजन कुमार, एसएसबी ४८औं बटालियन कमला बीओपीका सहायक कमाण्डेन्ट तासी पलधर, थाना एसआई मो. बेलाल खान, देवधा थाना एसआई कृष्ण कांत, अंचल अमिन तथा नेपाल सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रशासनिक टोलीले जयनगरको अकौन्हा गाउँ र इनरवा सीमास्थित नो म्यान्स ल्यान्ड क्षेत्रमा भएका अवैध संरचनाहरूलाई बुलडोजर प्रयोग गरी हटाएको छ। सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनले कडाइका साथ नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाबाट अतिक्रमण हटाएको जनाएको छ।
एसडीपीओ राघव दयालका अनुसार नो म्यान्स ल्यान्ड क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको छ।
यस अभियानअन्तर्गत जनउपयोगी सामग्रीहरू पनि हटाइएको छ। नो म्यान्स ल्यान्ड नजिक रहेका दर्जनौँ चापाकल हटाइएका कारण त्यहाँ बसोबास गर्ने धेरै परिवारहरू पिउने पानीबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। स्थानीय बासिन्दाले नेपाल–भारत सीमा नजिक चापाकल जडान गरेका थिए।
नेपाल–भारत सीमामा अवैध निर्माण र अतिक्रमण हटाउने अभियान आगामी दिनमा पनि जारी रहने प्रशासनले जनाएको छ।
