रिमोट वर्क बन्द गर्दै कतार सरकार, कार्यालय उपस्थितिलाई प्राथमिकता
दोहा, कतार- कतार सरकारले कोभिड–पछिको समयदेखि लागू गरिएको ‘रिमोट वर्क’ (घरबाट काम गर्ने व्यवस्था) अन्त्य गर्दै देशभरका निजी क्षेत्रका संस्थाहरूमा पुनः पूर्ण रूपमा नियमित कार्यालय प्रणाली लागू गर्ने निर्णय गरेको छ। श्रम मन्त्रालयले वाणिज्य तथा उद्योग मन्त्रालयसँगको सहकार्यमा जारी गरेको आधिकारिक सूचनामार्फत अब सबै कम्पनीहरूले आफ्ना कर्मचारीलाई नियमित रूपमा कार्यालयमै उपस्थित गराई काम गराउनुपर्ने स्पष्ट पारेको हो।
सोमबार सार्वजनिक गरिएको उक्त सूचनाअनुसार, यसअघि विशेष परिस्थितिका कारण लागू गरिएको ‘रिमोट वर्क’ सम्बन्धी सिफारिस फिर्ता लिइएको छ। मन्त्रिपरिषद् सचिवालयबाट जारी निर्देशनअनुसार अब व्यावसायिक गतिविधिहरूलाई अझ प्रभावकारी, नियमित र स्थिर बनाउने उद्देश्यले यो निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ।
मन्त्रालयका अनुसार अबदेखि सबै कम्पनीहरूले आफ्ना कर्मचारीलाई पहिले जस्तै दैनिक रूपमा कार्यालयमा उपस्थित गराई कार्य सञ्चालन गर्नुपर्नेछ। यससँगै विगत केही वर्षदेखि आंशिक वा पूर्ण रूपमा अपनाइएको लचिलो कार्य प्रणाली (फ्लेक्सिबल वा रिमोट वर्क) पूर्ण रूपमा अन्त्य भएको छ।
सरकारले यस निर्णयलाई देशको आर्थिक गतिविधि सुदृढ गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने तथा समग्र व्यावसायिक वातावरणलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयासका रूपमा व्याख्या गरेको छ। प्रत्यक्ष उपस्थितिमा काम गर्दा समन्वय, उत्पादकत्व र सेवा प्रवाहमा सुधार आउने विश्वास सरकारको रहेको छ।
यस निर्णयले कतारमा रहेका हजारौं निजी कम्पनीहरू र त्यहाँ कार्यरत नेपालीसहितका विदेशी श्रमिकहरूमा प्रत्यक्ष प्रभाव पार्नेछ। विशेषगरी घरबाट काम गर्दै आएका कर्मचारीहरूले अब कार्यालयमा नियमित उपस्थित हुनुपर्ने भएकाले दैनिक जीवनशैलीमा समेत परिवर्तन आउने देखिएको छ।
सूचनाको अन्त्यमा सरकारले देशको सुरक्षा, स्थायित्व र समृद्धिका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गर्दै शुभकामना व्यक्त गरेको
