इरानको आक्रमणपछि कतारको कडा कदम: इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- कतार सरकारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारीहरू र उनीहरूका अधीनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ (persona non grata) घोषणा गरेको छ। यससँगै सम्बन्धित सबैलाई २४ घण्टाभित्र कतार छोड्न निर्देशन दिइएको कतारको विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इरानद्वारा कतारको भूमिमा बारम्बार गरिएका आक्रमणहरूको प्रत्यक्ष प्रतिक्रियास्वरूप यो कडा निर्णय लिइएको हो। मन्त्रालयले ती गतिविधिहरूलाई कतारको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय कानुनमाथिको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ।

मन्त्रालयका अनुसार, यिनै कारणले इरानी दूतावासमा कार्यरत सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारीहरूका साथै उनीहरू मातहतका सम्पूर्ण कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरिएको हो।

कूटनीतिक अभ्यासमा यस्तो घोषणा अत्यन्तै गम्भीर कदम मानिन्छ, जसले सम्बन्धित देशबीचको सम्बन्धमा चर्को तनाव रहेको संकेत गर्दछ। पछिल्लो घटनाक्रमले कतार–इरान सम्बन्धमा थप जटिलता ल्याउने र क्षेत्रीय कूटनीतिमा असर पार्ने अनुमान गरिएको छ।