मध्यपूर्वका २० लाख नेपालीको सुरक्षाभन्दा अधिवेशन प्राथमिक? अध्यक्ष पन्थीको प्रश्न
आशिक हुसैन शेख, दोहा, कतार,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार Non-Resident Nepali Association (एनआरएनए) अन्तर्गत NRNA NCC Qatar का अध्यक्ष कृष्ण पन्थीले एनआरएनए आइसीसीले मध्यपूर्व क्षेत्रलाई सधैं ‘भोट बैंक’को रूपमा मात्र प्रयोग गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले वर्तमान विषम क्षेत्रीय परिस्थितिका बीच पनि आइसीसी प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रियामै केन्द्रित रहनुले मध्यपूर्वप्रति संस्थाको दृष्टिकोण स्पष्ट भएको बताएका हुन्।
दोहामा आयोजित एक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पन्थीले भने, “हामीले विगतदेखि नै एनआरएनए आइसीसीले मध्यपूर्वलाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्ने गरेको सुन्दै आएका थियौं। तर अहिलेको परिस्थितिले त्यो कुरा व्यवहारमै प्रमाणित गरेको छ। यहाँ क्षेत्रीय तनाव, सुरक्षा चासो र लाखौं नेपाली श्रमिकहरूको भविष्य अनिश्चित बन्दै गइरहेको अवस्थामा पनि उहाँहरू डेलिगेट्स फाइनल गर्ने, छुटेका नाम पठाउन दबाब दिने जस्ता प्रक्रियामै केन्द्रित देखिनुभएको छ।”
उनका अनुसार मध्यपूर्वमा कार्यरत करिब २०–२१ लाख नेपाली श्रमिकहरूको अवस्था संवेदनशील बन्दै गएको छ। क्षेत्रीय अस्थिरताका कारण कुनै पनि बेला आकस्मिक अवस्था सिर्जना हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा प्राथमिकता नेपाली नागरिकको सुरक्षा, दूतावास समन्वय र सम्भावित पुनरागमन (रिप्याट्रिएसन) को स्पष्ट कार्ययोजना हुनुपर्ने बताए।
“यदि परिस्थिति अझ जटिल बन्दै गयो भने अन्य देशहरूले आफ्ना नागरिक फिर्ता लैजाने निर्णय गर्न सक्छन्। नेपाल सरकारले पनि त्यस्तो अवस्थाका लागि पूर्वतयारी स्वरूप स्पष्ट मेकानिजम बनाउनुपर्छ। त्यसका लागि एनआरएनए आइसीसीले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासहरूसँग तत्काल समन्वय गर्नुपर्ने हो। तर अहिले देखिएको प्राथमिकता भने अधिवेशन र डेलिगेट्समा सीमित छ,” पन्थीले भने।
उनले अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न देखिएको आतुरताप्रति पनि आपत्ति जनाए। “अधिवेशन संस्थागत प्रक्रिया हो, त्यो आवश्यक पनि छ। तर जब लाखौं श्रमिकहरूको मनोबल खस्किएको छ, परिवारहरू चिन्तित छन्, तब नेतृत्वले संवेदनशीलता देखाउनुपर्छ। मध्यपूर्वका नेपालीहरूको भावनासँग खेलवाड गरेर मात्र संस्थागत एजेन्डा अघि बढाउनु खेदजनक छ,” उनले स्पष्ट पारे।
अध्यक्ष पन्थीका अनुसार मध्यपूर्व क्षेत्र एनआरएनएको सबैभन्दा ठूलो सदस्य संख्या भएको क्षेत्र हो। यहाँका सदस्यहरूको मतले नै नेतृत्व चयनमा निर्णायक भूमिका खेल्दै आएको छ। तर जब समस्या पर्दा यही क्षेत्रलाई बेवास्ता गरिन्छ, त्यसले संस्थामाथि प्रश्न उठ्ने उनले बताए।
“हामी एनआरएनएलाई कमजोर बनाउन खोजिरहेका छैनौं। बरु संस्थालाई सुदृढ, उत्तरदायी र संवेदनशील बनाउन चाहन्छौं। नेतृत्वले प्राथमिकता पुनः समीक्षा गर्नुपर्छ। डेलिगेट्स र अधिवेशनभन्दा माथि मानव सुरक्षा र नेपाली श्रमिकको जीवन महत्वपूर्ण हो,” उनले जोड दिए।
उनले मध्यपूर्वका सबै एनसीसीहरूलाई साझा धारणा निर्माण गर्न र आवश्यक परे संयुक्त पहलमार्फत आइसीसीसमक्ष औपचारिक ध्यानाकर्षण गराउन पनि आह्वान गरे। साथै, नेपाल सरकारसँग समन्वय गर्दै आपतकालीन योजना, सुरक्षित आवास, उद्धार उडान र आर्थिक सहायताको स्पष्ट खाका बनाउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
अन्त्यमा अध्यक्ष पन्थीले भने, “मध्यपूर्वका नेपालीहरू केवल मतदाता होइनन्, राष्ट्रका अर्थतन्त्र धान्ने श्रमिक हुन्। उनीहरूको पसिना र रेमिटेन्सले देश चलेको छ। यस्तो अवस्थामा उनीहरूको सुरक्षाभन्दा ठूलो कुनै एजेन्डा हुन सक्दैन।”
हाल क्षेत्रीय अवस्थाप्रति सबैलाई संयम, सचेतना र एकताबद्ध रहन आग्रह गर्दै उनले संस्थागत जिम्मेवारी निर्वाह गर्न सम्बन्धित निकायहरूलाई पुनः अपिल गरेका छन्।
