मधेश युवा संघ कतारद्वारा जोगी पासवानलाई आर्थिक सहयोग।
महोत्तरी, लोहरपट्टी ।
मिति २०८२/१०/०६ गते बुधवारका दिन महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका–०९, फुलबरीया गाउँ निवासी जोगी पासवानलाई उपचारका लागि नगद रु. १५,१०५/- आर्थिक सहयोग प्रदान गरिएको छ।

स्थानीय समाजसेवी युवा बिरेन्द्र पासमानको पहलमा मधेश युवा संघ, कतारमा आवद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो। कार्यक्रममा सामाजिक अभियन्ता ब्रहमदेव पासवान, विश्वनाथ पासवान, रविन्द्र पासवान, शिव पासवान, बिरेन्द्र पासमान, अरूण साह तथा संस्थाका कोषाध्यक्ष राम सजन साहलगायतको उपस्थिति रहेको थियो।

सहयोग प्राप्त गरेपछि जोगी पासवानले कठिन अवस्थामा साथ दिने सम्पूर्ण सहयोगी दाताहरू तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
संस्थाको परिचय तथा उद्देश्य
मधेश युवा संघ, कतार एक सामाजिक संस्था हो, जसले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै समाजसेवा, मानवता र सहयोगको भावना प्रवर्द्धन गर्दै आएको छ। विशेषगरी मधेश क्षेत्रका विपन्न, बिरामी, असहाय तथा समस्यामा परेका परिवारहरूलाई आर्थिक, नैतिक तथा सामाजिक सहयोग उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको हो।

संस्थाले विगतदेखि नै आपतकालीन स्वास्थ्य सहयोग, विपद् व्यवस्थापन सहयोग, शैक्षिक सामग्री वितरण तथा विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाका अध्यक्ष प्रताप साहका अनुसार, “हामी जहाँ रहे पनि आफ्नो समाज र जन्मभूमिप्रति जिम्मेवार छौं। आगामी दिनमा पनि यस्ता मानवसेवाका कार्यलाई निरन्तरता दिनेछौं।”
मधेश युवा संघ, कतारले समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित विभिन्न सामाजिक अभियानलाई अगाडि बढाउँदै आएको छ।
