पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजीमा प्रहरी

महोत्तरी टुडे     

काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक कार चालकको खोजी प्रहरीले सुरु गरेको छ।

सामाजिक सञ्जालमा एक व्यक्तिले कारबाट झरेर पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको हो। सार्वजनिक भिडियोमा साझा यातायात को बससमेत देखिएकाले घटना काठमाडौं उपत्यकाभित्रै भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन कुमार भट्टराई ले भिडियो प्रहरीसमक्ष पनि प्राप्त भइसकेको जानकारी दिँदै संलग्न व्यक्ति र सवारी साधनको पहिचानका लागि अनुसन्धान सुरु गरिएको बताए।

‘भिडियो हामीलाई पनि प्राप्त भएको छ। कार र व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने।

भिडियोमा कारबाट झरेका एक व्यक्तिले गालीगलौज गर्दै पैदलयात्रीलाई मुक्का प्रहार गरेको देखिन्छ। त्यसपछि एक महिला आएर गाली गरेको आवाजसमेत सुनिन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।