संघीयताको रक्षा गर्न जसपा नेपाल नै सक्षम : उपेन्द्र यादव

महोत्तरी टुडे     

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव ले मधेश जनविद्रोह केवल आन्दोलन मात्र नभई मधेशको आत्मसम्मानको घोषणापत्र भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै गोली, दमन र षड्यन्त्रका बीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि भएको उल्लेख गरेका छन्।

यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधार कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै त्यसको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरेका छन्।

उनले अबको निर्णय जनताको हातमा रहेको उल्लेख गर्दै अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गर्न आह्वान गरेका छन्। विभाजन र भ्रमभन्दा माथि उठेर संघीयता र मधेशको आवाजलाई निर्णायक बनाउन आग्रह समेत गरेका छन्।