मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा वृहत् इफ्तार कार्यक्रम आयोजना गरिने।

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा कतार- मधेश प्रदेश समन्वय परिषद् कतार ले विगतका वर्षहरूझैँ यस वर्ष पनि इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान तथा नजिकिँदै गरेको राष्ट्रिय पर्व ईद–उल–फित्रको पावन अवसरमा वृहत् इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले परिषद्ले उक्त कार्यक्रम गर्न लागेको हो।

परिषद्का अध्यक्ष कलाम हुसैन खान ले महोत्तरी टुडे डटकमका पत्रकार आशिक हुसैन शेख लाई जानकारी दिँदै रमजान महिनाभर रोजा बस्ने मुस्लिम समुदायका रोजेदारहरूका लागि इफ्तार कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार सबै धर्म र समुदायका चाडपर्वहरूलाई आपसी सम्मान र सहकार्यका साथ मनाउनुपर्छ भन्ने सन्देश दिन परिषद्ले हरेक वर्ष यस्ता कार्यक्रमहरू गर्दै आएको छ।

इस्लाम धर्मावलम्बीहरूका लागि रमजान महिना अत्यन्त पवित्र मानिन्छ। यस अवधिमा मुस्लिमहरू बिहान सबेरै ‘सहरी’ खाएर दिनभर उपवास (रोजा) बस्छन् र साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर रोजा खोल्छन्। रमजान आत्मअनुशासन, संयम, दानशीलता र आध्यात्मिक शुद्धीकरणको महिना मानिन्छ। यसै महिनाको अन्त्यमा मनाइने ईद–उल–फित्र मुस्लिम समुदायको महत्वपूर्ण पर्व हो, जसले आपसी मेलमिलाप, क्षमाशीलता र भाइचाराको सन्देश दिन्छ।

अध्यक्ष खानका अनुसार कतारमा स्थापित मधेश प्रदेशका सम्पूर्ण जिल्ला संस्थाहरू— सप्तरी सेवा समाज कतार, सिरहा सेवा समाज कतार, धनुषा सेवा समाज कतार, महोत्तरी समाज सेवा कतार, सर्लाही प्रवासी सेवा समाज कतार, बारा आदर्श सेवा समाज कतार तथा मधेसी एकता समाज कतार को सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ।

उक्त वृहत् इफ्तार कार्यक्रम आगामी २० फेब्रुअरी २०२६, शुक्रबार कतारस्थित गोर्खाली रेस्टुरेन्ट को सभाहलमा आयोजना हुनेछ। कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १:०० बजेबाट सुरु हुने जनाइएको छ।

कार्यक्रम सफल पार्न परिषद्का अध्यक्ष खानले कतारमा श्रमरत सम्पूर्ण मुस्लिम तथा गैर–मुस्लिम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गर्नुभएको छ। परिषद्ले यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नेपाली समुदायबीचको आपसी एकतालाई थप सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।