गण्डकी प्रदेश समन्वय परिषद् कतारको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न।
दोहा, कतार — कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। परिषद्को आयोजनामा तथा मातहतका जिल्ला संस्थाहरूको पूर्ण सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर मंगलबार वक्रा समुन्द्री तटमा आयोजित कार्यक्रममा परिषद् कतारका अध्यक्ष नन्दलाल विकको अध्यक्षता तथा परिषद्का संस्थापक अध्यक्ष आसबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमको शुभारम्भ बागलुङको पश्चिम भेग पुर्कोटे र हटियामा प्रचलित नौमती बाजाको पूजासहित गरिएको थियो। विदेशमा रहेर पनि मौलिक नेपाली संस्कृति, परम्परा र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले गरिएको नौमती बाजाको प्रस्तुतिले कार्यक्रमलाई विशेष बनाएको थियो।

कतारको राष्ट्रिय खेलकुद दिवसको सम्मानस्वरूप आयोजित बन्द डब्बामा चनाका गेडा राखी त्यसको संख्या अनुमान गर्ने खेलले कार्यक्रममा थप रोचकता थपेको थियो। उक्त खेलमा महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फ दिनेश लामिछानेले डब्बामा रहेको संख्याको नजिकै अनुमान गर्दै जनही १०१–१०१ रियाल नगद पुरस्कार हात पारे।

कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि गण्डकी प्रदेशको पहिचान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा परिषद्ले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। यस्ता कार्यक्रमहरूले प्रदेशवासीबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने उनीहरूको धारणा थियो।

साधारण सभाका क्रममा परिषद् मातहतका विभिन्न जिल्ला संस्थाहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। संस्थागत सुदृढीकरण, नयाँ सदस्य विस्तार, महिला तथा युवाहरूलाई संगठनमा सक्रिय रूपमा जोड्ने विषयलाई आगामी कार्ययोजनाको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

त्यसैगरी, विदेशमा कार्यरत गण्डकी प्रदेशवासी नेपालीहरूको हकहित, समस्या र आवश्यकतालाई सम्बन्धित निकायहरूसम्म पुर्याउन परिषद्ले आगामी दिनमा थप पहल गर्ने निर्णयसमेत सभामा गरिएको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत आपत्–विपद्, स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने विषयमा समेत सहभागिहरूले जोड दिएका थिए।

प्रमुख अतिथि आसबहादुर गुरुङले आफ्नो शुभकामना मन्तव्यका क्रममा परिषद्ले आफ्नो कार्यतालिका अनुसार सञ्चालन गर्दै आएका कार्यक्रमहरू अत्यन्त लाभदायी र प्रभावकारी रहेको बताए। परिषद्ले प्रवासमा रहेर पनि प्रदेशस्तरीय एकतालाई मजबुत बनाउँदै उदाहरणीय काम गरिरहेको उनले उल्लेख गरे।
कार्यक्रममा लमजुङे कवि सिताराम थापाले कविता वाचन गरेका थिए भने तारा बिसीको सुमधुर गायन र करुणा थापा मगरको आकर्षक नृत्यले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रमको सहजीकरण महासचिव मनप्रसाद राना मगरले गरेका थिए। सो अवसरमा कार्यसमितिले पछिल्लो एक वर्षमा सम्पन्न गरेका विविध गतिविधि समेटिएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो। कोषाध्यक्ष मदन जिसिले परिषद्को आय–व्यय विवरण पेस गरेका थिए भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राख्दै परिषद्ले छिट्टै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जानकारी दिए।

सभामा गण्डकी प्रदेशवासी तथा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने सीमित शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमका क्रममा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा नौमती बाजा संयोजक सन्तोष पौडेललाई फेटा ओढाएर सम्मान गरिएको थियो। साथै, लमजुङ सेवा समाज कतारको तर्फबाट आयोजक संस्थालाई कोसेली उपहार प्रदान गरिएको थियो।

साधारण सभाको समापन गर्दै अध्यक्ष नन्दलाल विकले गण्डकी प्रदेश समन्वय परिषद् कतारले सधैं फरक, रचनात्मक तथा समुदायमुखी कार्यक्रम गर्दै आएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे।
छोटो औपचारिक कार्यक्रम समापनपछि पञ्चेबाजासहित वनभोज कार्यक्रम सुरु गरिएको थियो। त्यस क्रममा कलाकारहरू तथा उपस्थित सहभागीहरू पञ्चेबाजामा छमछमी नाच्दै रमाइलो गरेका थिए। थुप्रै कलाकारहरूले पञ्चेबाजामै दोहोरी गाएका थिए भने उपस्थित सबैले कुर्ची छोडेर बाजामा फन्को लगाउँदै सामूहिक रूपमा रमाइलो गरेका थिए।

दिउँसोको गर्मी र साँझ पर्दै जाँदा समुन्द्री तटमा बढ्दै गएको चिसोलाई बाजा, गीत र नृत्यले जितेको अनुभूति सहभागीहरूले व्यक्त गरे। गीत–संगीत र सांस्कृतिक रमाइलोको माहोल अबेर साँझसम्म निरन्तर चलेको थियो।
