कपिलवस्तुको सिमावर्ती क्षेत्रमा संयुक्त नाका अनुगमन कार्यक्रम सम्पन्न
धर्मेन्द्र कुमार कुर्मी- कपिलवस्तु – कपिलवस्तुको पशु क्वारेन्टाइन चेकपोष्ट, कृष्णनगर ले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार नेपाल-भारत सिमाना नाका अनुगमन गरेको छ। अनुगमनको उद्देश्य पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम र कानुनी प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको आयोजकले जनाएको छ।

अनुगमन विजयनगर गाउँपालिकासँग जोडिएको नेपाल-भारत सिमावर्ती क्षेत्र, विशेषगरी जिल्ला बलरामपुरतर्फ गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी र सञ्चारकर्मीहरू सहभागी थिए। संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो।
कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरी ले बताए अनुसार, “सिमानाबाट भित्रिने हरेक पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य छ। सीमावर्ती क्षेत्रमा रोग फैलिने जोखिम उच्च भएकाले समयमै अनुगमन र समन्वय अत्यन्त आवश्यक छ। संयुक्त अनुगमनले अवैध गतिविधि नियन्त्रणमा सहयोग पुर्याउँछ।”
सशस्त्र प्रहरी बल नेपाल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठ ले सीमा सुरक्षामा सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै भने, “खुला सिमाका कारण ठुलो चुनौती देखिन्छ। क्वारेन्टाइन, प्रहरी र स्थानीय सरोकारवालाबीच सहकार्य बढेमा अवैध ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ।”
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जवाबैराठका प्रहरी निरीक्षक पदम जेठारा ले सीमामा निगरानी थप कडा गरिएको जानकारी दिंदै नियम विपरीत गतिविधिमा कडाइका साथ कारबाही गरिने बताए।
प्रहरी चौकी ठकुरापुरका सहायक प्रहरी निरीक्षक पुष्कर सिंह कँवर ले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै, स्थानीय व्यवसायी र नागरिकलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरे।
संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा देखिएका चुनौतीहरू पहिचान गर्दै आगामी दिनमा थप प्रभावकारी अनुगमन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूको भनाइ अनुसार, कार्यक्रमले सीमावर्ती क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा र कानुनी प्रक्रिया कार्यान्वयनमा सकारात्मक सन्देश दिएको छ।
