गण्डकी प्रदेश समन्वय परिषद् कतार वार्षिक साधारणसभा र बनभोज कार्यक्रम गर्दै
आशिक हुसैन शेख, दोहा कतार– प्रवासी नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यका साथ गण्डकी प्रदेश समन्वय परिषद्, कतार ले आफ्नो वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम आयोजना गर्दैछ। यस वर्षको कार्यक्रम कतारको राष्ट्रिय खेलकुद दिवस को अवसरमा आगामी फेब्रुअरी १०, २०२६, समुन्द्री तट, वक्रा मा आयोजना हुने परिषद्का अध्यक्ष तथा कार्यक्रम संयोजकले जानकारी दिएका छन्।
परिषद्का पदाधिकारीहरूले बताएका छन् कि, वार्षिक साधारणसभा र बनभोज कार्यक्रमले प्रवासी नेपालीहरूबीच आपसी समझदारी, भाईचारा र सामाजिक सम्बन्धलाई मजबुत बनाउने अवसर प्रदान गर्नेछ। राष्ट्रिय खेलकुद दिवससँग मेल गर्दै कार्यक्रममा खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरूको विशेष आयोजना गरिने छ।
कार्यक्रममा दोहामा रहेका गण्डकी प्रदेशका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, विद्यार्थी, परिवारजन र शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीहरूले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू, गीत, नृत्य, पारिवारिक खेलकुद र खेलकुद प्रतियोगिताहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्। यसले प्रवासमा रहेर पनि नेपाली समुदायको संस्कृति, कला, खेलकुद र पहिचानलाई जोगाउन महत्त्वपूर्ण योगदान दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।
अध्यक्ष अवधेश मण्डलले भने, “हामीले यो कार्यक्रम कतारको राष्ट्रिय खेलकुद दिवससँग मेल गर्दै आयोजना गरेका छौं। हाम्रो उद्देश्य प्रवासमा रहेका गण्डकी प्रदेशका नेपालीहरूबीच आपसी सद्भाव, सहयोग र खेलकुदमार्फत स्वास्थ्यकर जीवनशैली प्रवर्द्धन गर्नु हो। यस्तो अवसरले नयाँ पुस्तालाई संस्कार, खेलकुद र संस्कृति सँग जोड्ने काम गर्नेछ।”
परिषद्का पदाधिकारीहरूले सम्पूर्ण सदस्य, शुभेच्छुक, परिवारजन र समाजसेवीहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न अनुरोध गरेका छन्। आयोजकको विश्वास छ कि, कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदा प्रवासी नेपाली समुदायमा सकारात्मक सन्देश फैलिनेछ र सामाजिक तथा सांस्कृतिक साझेदारीको मार्ग प्रशस्त हुनेछ।
गण्डकी प्रदेश समन्वय परिषद् कतार सन् २०१६ मा स्थापना भएको संस्था हो। परिषद्ले प्रवासी नेपाली समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक उत्थानका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
