नेपाली श्रमिकका लागि नेपाल–साउदी सम्झौता
महोत्तरी टुडे डेस्क- नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता सम्पन्न भएको छ।
मिति वि.सं. २०८२ माघ ११ गते आइतबार साउदी अरबको राजधानी रियाद मा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारको तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री माननीय अहमद बिन सुलेमान अलराजी ले हस्ताक्षर गर्नुभएको हो।

सम्झौतामा हस्ताक्षर हुनुअघि दुबै देशका माननीय श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो। बैठकका क्रममा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले उक्त सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण दस्तावेजको रूपमा काम गर्ने धारणा राख्नुभयो।
मन्त्री भण्डारीले यस सम्झौतामार्फत साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको संरक्षण र रोजगार सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा समेत व्यक्त गर्नुभयो।
द्विपक्षीय श्रम सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणजस्ता विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ। सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
यस सम्झौताबाट साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि आउने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र रोजगारी स्थायित्व थप मजबुत हुने विश्वास गरिएको छ।
