कतार बाट लाखौँ रियाल ठगी गरी ‘गोल्डेन स्टोन ज्वेलरी’का सञ्चालक फरार

महोत्तरी टुडे     

दोहा, कतार :

कतारको राजधानी दोहास्थित गोल्ड सुकमा रहेको ‘गोल्डेन स्टोन ज्वेलरी’ नामक सुनचाँदी पसलका सञ्चालकले करिब १ सय नेपाली नागरिकबाट १० देखि १५ लाख कतारी रियाल ठगी गरी फरार भएको आरोप सार्वजनिक भएको छ।

आइतबार साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी तथा उपाध्यक्ष एवं श्रमिक विभाग संयोजक सन्तोष पौडेलसमक्ष दर्जनौँ पीडितले गुनासो राखेपछि घटना बाहिर आएको हो। पीडितहरू गोर्खाली रेस्टुरेन्ट, मुन्ताजामा भेला भई न्यायका लागि सहयोगको याचना गरेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै मध्यान्हकर्मी घटनास्थल पुग्दा करिब दुई दर्जन पीडितहरू चिन्तित अवस्थामा देखिन्थे। उनीहरूका अनुसार गहना बनाउन अर्डर दिँदा एड्भान्स रकम लिएर पसल सञ्चालक सम्पर्कविहीन बनेका हुन्।

“पसल खुलेको देख्दा विश्वास गर्‍यौँ, तर अहिले पसल नै बन्द छ,”

— पीडितहरूको गुनासो

नाम नखुलाउने सर्तमा एक पीडितले ५० हजार कतारी रियाल (झन्डै २० लाख नेपाली रुपैयाँ) फसेको बताए। पीडितहरूमा पुरुष मात्र नभई महिलाहरू समेत रहेका छन्। पुराना गहना नयाँ बनाउने, साटफेर गर्ने जस्ता सेवामार्फत विश्वास जितेर ठगी गरिएको उनीहरूको आरोप छ।

कतारको उद्योग तथा वाणिज्य विभागको अभिलेखअनुसार उक्त पसल सिराहा घर भएका मोहम्मद नसिरूल राईनको नाममा दर्ता रहेको छ। उनीमाथि लागेको आरोपबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। परिवार निकट स्रोतका अनुसार उनी विगत दुई महिनाभन्दा बढी समयदेखि नेपालमा छन्।

स्रोतका अनुसार नसिरूल राईनले आफू कतारमा रहँदा कसैको उधारो कारोबार बाँकी नरहेको र यदि केही बाँकी भए नेपालबाटै हिसाब मिलाउन तयार रहेको बताएका छन्। उनले सम्पूर्ण बेइमानी आफ्नो व्यवसायिक साझेदारले गरेको दाबीसमेत गरेका छन्।

नसिरूल राईनका व्यवसायिक साझेदार रौतहट जिल्ला जिंगडवा–९ निवासी मो. मोआज आलम सम्पर्कमा आउन चाहेनन्। मध्यान्हकर्मीले परिचय दिएर विभिन्न माध्यमबाट सम्पर्क गर्दा समेत उनले कुनै प्रतिक्रिया जनाएनन्। यद्यपि कागजातअनुसार उनी उक्त पसलका साझेदार देखिएका छन्।

यस घटनालाई कतारमा नेपाली श्रमिक तथा व्यवसायी ठगिएको गम्भीर प्रकरणका रूपमा हेरिएको छ। पीडितहरूले स्थानीय प्रशासन, एनआरएनए एनसीसी कतार तथा नेपाली दूतावासमा लिखित उजुरी दिएका छन्। दूतावासले कतारी कानुनको पालना गर्दै पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको सहभागीहरूले बताएका छन्।

पीडितहरूले ह्वाट्सएप समूहमार्फत आपसमा सम्पर्क विस्तार गर्दा हालसम्म करिब १ सय जना पीडित समूहमा जोडिएको एक पीडित महिलाले जानकारी दिइन्। घटनापछि कतारस्थित नेपाली समुदायमा चिन्ता र सशंका बढेको छ।