मधेशमा चिसोको मार, जनजीवन प्रभावित र मुसहर समुदाय चिन्तामा

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क, महोत्तरी-

मंसिर महिना सकिँदै जाँदा मधेश प्रदेशमा एक्कासि चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ। चिसोको प्रभावसँगै दैनिक जनजीवन, यातायात तथा व्यापार–व्यवसायमा प्रत्यक्ष असर देखिन थालेको छ।

महोत्तरी जिल्ला लगायत मधेश प्रदेशका विभिन्न स्थानमा चिसो बढेपछि मानिसहरूको आवत–जावतमा कमी आएको छ। यात्रु घटेसँगै स्थानीय बजारको चहलपहल पनि सुस्त बन्दै गएको छ, जसको असर व्यवसायमा स्पष्ट रूपमा देखिन थालेको छ।

व्यापारीहरूका अनुसार चिसोका कारण सर्वसाधारण अनावश्यक रूपमा घरबाहिर ननिस्कँदा पसलहरूमा ग्राहकको संख्या घटेको छ। यसैगरी सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुहरूको संख्यामा पनि कमी आएको छ। विशेषगरी टेम्पु तथा अन्य साना सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरूले आम्दानी घटेको गुनासो गरेका छन्।

चिसोको सबैभन्दा ठूलो असर ग्रामीण तथा विपन्न समुदायमा परेको छ। महोत्तरी जिल्लाका गौशाला,सोनमा, औरही, रामगोपालपुर, सम्सी, मनरासिस्वा लगायतका ग्रामीण क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायका परिवारहरूको जीवन कष्टकर बन्दै गएको छ। पर्याप्त न्यानो कपडा, ओढ्ने तथा दाउराको अभावमा उनीहरू कठ्याङ्ग्रिने चिसो सहन बाध्य भएका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार चिसोबाट जोगिने प्रमुख उपायका रूपमा दाउरा बाल्ने र ऊनी कपडा प्रयोग गर्ने गरिन्छ। तर चरम आर्थिक अभावका कारण धेरै विपन्न परिवारहरूलाई यी न्यूनतम साधन जुटाउन समेत कठिनाइ भइरहेको छ।

यसैबीच, चिसो बढ्दासमेत स्थानीय तह तथा सरोकारवाला निकायहरूले अपेक्षित जिम्मेवारी नलिएको भन्दै प्रभावित समुदायले गुनासो गरेका छन्। न्यानो कपडा वितरण, दाउरा व्यवस्थापन तथा अस्थायी राहतका कार्यक्रम अझै प्रभावकारी रूपमा सुरु हुन नसकेको उनीहरूको भनाइ छ।

सामाजिक संघ–संस्थाहरू तथा नागरिक समाजले चिसोबाट प्रभावित विपन्न र सीमान्तकृत समुदायप्रति स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्। समयमै राहत तथा सहयोग नपाए अवस्था अझ गम्भीर बन्न सक्ने उनीहरूको चेतावनी छ।