एनसिसी कतारद्वारा २३ औँ स्थापना दिवसमा ३८६ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
दोहा, कतार — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले आफ्नो २३ औँ स्थापना दिवस नासिम मेडिकल सेन्टरसँगको सहकार्यमा मनाएको छ। कार्यक्रममा ३८६ जना नेपाली श्रमिकले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

अस्पतालका विशेषज्ञ चिकित्सकहरूले रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआई, दन्त परामर्शसहित विभिन्न आधारभूत स्वास्थ्य परीक्षण तथा सामान्य चिकित्सकीय सल्लाह प्रदान गरेका थिए।

संघका अध्यक्ष कृष्ण पन्थीका अनुसार श्रमिकहरूको अत्यधिक भीडका कारण सबैको परीक्षण त्यही दिन सम्पन्न गर्न नसकिएकोले करिब १८५ जनालाई कुपन वितरण गरिएको छ, जसका आधारमा उनीहरूले यस वर्षकै अन्त्यसम्म निःशुल्क परीक्षण पाउनेछन्।

नासिम मेडिकल सेन्टरसँगको सम्झौता अनुसार, एनसिसी कतारको सदस्यता लिएका तथा कतारमा रहेका सबै नेपालीहरूलाई नासिमद्वारा प्रदान गरिने सेवा–सुविधामा कम्तीमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।

शुक्रबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रम ११ बजेसम्म चल्यो। कार्यक्रममा एनआरएनए अभियन्ता, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो। साथै, कतार रेडक्रसमार्फत प्राप्त विभिन्न उपहारहरू पनि नेपाली समुदायलाई वितरण गरिएको थियो।

