दोहामा नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी ८ तोला सुनसहित पक्राउ
दोहा, कतार – नेपाल एयरलाइन्सका चालक दल (क्याबिन क्रु) सदस्य सन्देश तिवारी दोहामा ८ तोला अवैध सुनसहित पक्राउ परेका छन्। कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा तिवारीको साथबाट अवैध रूपमा लैजाँदै गरिएको सुन फेला परेपछि उनी पक्राउ परेको कतारस्थित स्रोतहरूले जनाएका छन्।
घटनापछि नेपाल एयरलाइन्सले तत्काल प्रतिक्रिया दिँदै तिवारीलाई ३ महिनाका लागि निलम्बन गरेको एयरलाइन्सका आन्तरिक स्रोतहरूले पुष्टि गरेका छन्। नियमअनुसार अनुसन्धान पूरा नहुँदासम्म वा औपचारिक प्रतिवेदन प्राप्त नहुँदासम्म उनी कुनै पनि उडानमा खटाइने छैनन्।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको जनाइन्। ‘‘हामीसँग अहिलेसम्म कुनै आधिकारिक विवरण आएको छैन। आधिकारिक जानकारी नआएसम्म म केही भन्न सक्दिनँ,’’ उनले भनिन्।
कतार प्रहरीले तिवारीमाथि अवैध सुन बोकसंबन्धी थप अनुसन्धान गरिरहेको बताइएको छ। कतार र नेपालबीच पछिल्ला वर्षहरूमा बढ्दै गएको अवैध सुन तस्करीका गतिविधिहरूलाई ध्यानमा राख्दै यो घटनालाई दुवै देशका अधिकारीहरूले गम्भीर रूपमा लिएको स्रोतहरूले जनाएका छन्।
उड्डयन क्षेत्रका विश्लेषकहरूका अनुसार कर्मचारी स्वयं अवैध तस्करीमा संलग्न हुने घटना अत्यन्तै संवेदनशील मानिन्छ, जसले एयरलाइन्सको प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वसनीयतामा पनि असर पार्न सक्छ। घटनापछि नेपाल एयरलाइन्सले आन्तरिक सुरक्षा प्रणाली, कर्मचारी निगरानी र जोखिम व्यवस्थापन प्रक्रियालाई थप कडा गर्ने तयारी गरिरहेको बताइएको छ।
स्रोत: रातोपाटी
