सिराहा सेवा समाज कतारद्वारा बृहत् रक्तदान कार्यक्रम

महोत्तरी टुडे     

कतार, दोहा। सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारको समन्वय तथा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिएका छन्।

 

“रक्तदान, जीवनदान” भन्ने मूल नारासहित आयोजना हुन लागेको रक्तदान कार्यक्रम आगामी डिसेम्बर १२ तारिख, शुक्रबारका दिन सम्पन्न हुने अध्यक्ष यादवले बताए। कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको समाजले जनाएको छ।

 

अध्यक्ष यादवका अनुसार “आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं” भन्ने उद्देश्यसहित अघि बढेको समाजले पहिलोपटक यति ठूलो स्वरूपमा रक्तदान कार्यक्रम गर्न लागेको हो।

 

बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा एक पिन्ट रगत दान गरी “पुण्य सङ्कलन” गर्न सबै नेपालीहरूलाई उनले आग्रह गरेका छन्। साथै कतारमा स्थापित विभिन्न वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक तथा सामाजिक अगुवा, कलाकार, पत्रकार, सांगीतिक क्षेत्रका व्यक्तित्व तथा कतारस्थित सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको निम्तो गरिएकाे छ।

 

सिराहा सेवा समाज कतारले विगतदेखि नै सामाजिक, मानवीय तथा सामुदायिक सेवा–सहयोगमा सक्रिय हुँदै आएको छ।