सोनमा गाउँपालिकामा अर्धवार्षिक परीक्षा २०८२ सुरु
महोत्तरी टुडे डेस्क,
सोनमा गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा २०८२ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भई नियमित रूपमा परीक्षा दिइरहेको विद्यालय स्रोतले जनाएको छ।
परीक्षा व्यवस्थापनलाई सहज, सरलीकृत र पारदर्शी बनाउने उद्देश्यले विद्यालय स्तरिय परीक्षा समितिद्वारा प्रश्नपत्र निर्माण गरिएको हो। परीक्षा २०८२ मंसिर १ गतेदेखि मंसिर ८ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूको भीडभाडलाई व्यवस्थापन गर्ने उद्देश्यले यस वर्ष परीक्षा दुई सिफ्टमा सञ्चालन गरिएको समितिले जनाएको छ।

व्यवस्थित र सुरक्षित परीक्षा प्रक्रिया,
परीक्षा संचालन समितिका अध्यक्ष अरुण कुमार यादवका अनुसार यस वर्ष परीक्षा प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन विशेष ध्यान दिइएको छ। उनले भने —
“यसपटक परीक्षा अत्यन्तै मर्यादित, सुरक्षित र अनुशासित तरिकाले सञ्चालन भइरहेको छ। सबै विद्यालयसँग समन्वय गरेर परीक्षा सहज रूपमा अगाडि बढाइएका छौँ।”

विद्यार्थी र अभिभावकको उत्साह,
शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार यादवका अनुसार परीक्षामा विद्यार्थीहरूको उपस्थिति उत्साहजनक देखिएको छ।
“सोनमा गाउँपालिकाको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने हाम्रो प्रयासमा अर्धवार्षिक परीक्षा महत्वपूर्ण कडी बनेको छ। अभिभावक, शिक्षक तथा विद्यार्थी सबैको सहयोगले परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको छ,” उनले बताए।

गाउँपालिकाको प्राथमिकता : गुणस्तरीय शिक्षा
सोनमा गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै आएको छ। शिक्षक तालिम, शैक्षिक निरीक्षण, विध्यार्थी केन्द्रित सिकाइ, नियमित परीक्षा व्यवस्था जस्ता प्रयासहरूले गुणस्तरीय शिक्षा को आधार निर्माण गरेको स्थानीयवासीहरूको धारणा छ।
परीक्षा अवधिभर विशेष अनुगमन
परीक्षा अवधिभर गाउँपालिकाबाट विशेष अनुगमन टोली खटाइएको छ, जसले विद्यालयहरूमा परीक्षा मर्यादा, अनुशासन, सुरक्षा तथा व्यवस्थापनको निगरानी गरिरहेको छ।
