बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको ‘मानवता विरुद्धको अपराध’ मुद्दाको फैसला आज

महोत्तरी टुडे     

ढाका — बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध चलिरहेको ‘मानवता विरुद्धको अपराध’ सम्बन्धी मुद्दाको फैसला आज सोमबार सुनाइने भएको छ। बीबीसी बंगला सेवाका अनुसार, विशेष न्यायाधिकरणले बिहान ११ बजे निर्णय सुनाउनेछ, जसका लागि आवश्यक सबै प्रक्रिया र तयारी पूरा गरिएको छ।

अभियोजन पक्षले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलसहितका अभियुक्तहरूलाई अधिकतम सजाय— मृत्युदण्ड माग गरेको छ। सम्भावित सुरक्षा परिस्थिति मूल्यांकन गर्दै बंगलादेश सर्वोच्च अदालतले सेना मुख्यालयलाई न्यायाधिकरण परिसरमा कडा सुरक्षा व्यवस्था मिलाउन पत्र लेखेको छ, जसअनुसार सैनिक तैनाथीसमेत गरिएको छ।

फैसला प्रत्यक्ष प्रसारण गरिने भएको छ। बंगलादेश टेलिभिजन (BTV) ले शेख हसिना सहित चार अभियुक्तको मुद्दा लाइभ प्रसारण गर्ने तयारी गरेको छ, जसले देश–विदेशका राजनीतिक वृत्तमा ठूलो चासो बढाएको छ।

गत वर्ष सरकारविरोधी आन्दोलन चर्किँदै जाँदा बंगलादेशमा हिंसात्मक घटनाहरू बढेका थिए। त्यही क्रममा भएका घटनालाई आधार बनाउँदै हसिनामाथि मानवता विरुद्धका अपराधमा संलग्न रहेको आरोप लगाइएको हो। बढ्दो दवाव र राजनीतिक संकटका कारण उनी पदबाट हट्न बाध्य भएकी थिइन् र हाल भारतमा बसोबास गरिरहेकी छन्।

आज आउने फैसला बंगलादेशको राजनीतिक भविष्यलाई गहिरो रूपमा प्रभावित गर्ने मोडका रूपमा हेरिएको छ।