सम्सी र रघुनाथपुर नाकाबाट दिनहुँ भन्सार छलि सामान प्रवेश- प्रहरी मौन, तस्कर निर्भय

महोत्तरी टुडे     

नरेन्द्र महतो सम्सी, महोत्तरी-

महोत्तरी जिल्लाका विभिन्न सिमानाका — सम्सी नाका, रघुनाथपुर नाका, पोखरभिण्डा नाका र ईटहरवा नाका हुँदै दैनिक रूपमा भारतीय सामानहरू विना राजस्व नेपाल भित्र्याइँदै आएको खुलासा भएको छ।

स्थानीय व्यापारीहरूका अनुसार यी नाकाहरूमा खटिएका सशस्त्र प्रहरी बलका जवान र डिएसपीको मिलेमतोमा महिनावारी लिएर तस्करी हुने गरेको आरोप छ। “महिनावारी नदिएसम्म एक सुकाको सामान पनि आउँदैन,” एक व्यापारीले नाम नखुलाउने सर्तमा बताएका छन्।

उनका अनुसार विशेष गरी सम्सी र रघुनाथपुर नाकाबाट कपडा, चिनी, आँटा, सुपारी, छहोरा, बदाम, लसुन, कोस्मेटिक वस्तु र पेय पदार्थहरू भन्सार छलि गरेर भित्र्याइँदैछ। यी सामानहरू प्रहरीका आँखाअगाडि टेम्पु र मोटरसाइकलमा लोड भएर सम्सी–परसा–कठुधार हुँदै गौशाला बजारसम्म आइपुग्ने गरेका छन्।

रघुनाथपुर नाका हुँदै पनि तरहारी, सुन्दरपुर, फुलकाहा र विशहरपुर मार्ग भएर गौशाला बजार सम्म समान ल्याइने गरेको छ।

स्थानीयहरूका अनुसार, गौशाला–सम्सी सडक खण्डमा मात्र चारवटा प्रहरी चौकी रहेका छन् — इलाका प्रहरी कार्यालय गौशाला, प्रहरी सेन्टर कठुधार, अस्थायी प्रहरी चौकी पर्सा र सशस्त्र प्रहरी क्याम्प सम्सी।

तर यी सबै सुरक्षा चौकीहरू सक्रिय नभई मौन दर्शक बनेका छन्, जसका कारण तस्करी अझै बढ्दो क्रममा छ।

त्यस्तै, रघुनाथपुर क्षेत्रमा पनि सशस्त्र प्रहरी क्याम्प, डिएसपी दरबन्दी, बजार प्रहरी सेन्टर र जमुनिया सशस्त्र क्याम्प हुँदा पनि तस्करहरू निडर रूपमा समान ल्याउने गरेका छन्।

हालै सुन्दरपुरमा मोटरसाइकलले चिनी लोड गर्दा दुर्घटना भई केही व्यक्ति घाइते भएका थिए। स्थानीयले भनेका छन् — “सिमानामा कति क्याम्प थपे पनि जबसम्म प्रहरी स्वच्छ हुँदैन, तस्करी रोकिँदैन।”

परसा र कठुधारका प्रहरीहरू बिहानदेखि साँझसम्म चेकजाँचको नाममा पैसा उठाउने गरेको आरोप पनि व्यापारीहरूले लगाएका छन्।

तर त्यही समयमा तस्करीका सामानहरूलाई कुनै रोकटोक छैन, जसले राजस्व छली र सुरक्षाप्रति प्रश्न उठाएको छ।