गण्डकी प्रदेश समन्वय परिषद, कतारद्वारा सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यतासाथ सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार – गण्डकी प्रदेश समन्वय परिषद, कतारले “बृहत् सांस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम २०२५” भव्यतासाथ सम्पन्न गरेको छ। कार्यक्रम गण्डकी प्रदेश समन्वय परिषद र सो प्रदेश अन्तर्गतका जिल्लाहरुको संयुक्त पहलमा बडा दशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा आयोजना गरिएको हो।

FB_IMG_1760799124112.jpg

सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा १७ सेप्टेम्बर, शुक्रबार सम्पन्न यस कार्यक्रममा प्रदेश अध्यक्ष नन्दलाल विश्वकर्मा (अजय) ले सभापतित्व गर्नु भएको थियो भने संस्थाका प्रमुख संरक्षक आश बहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारसहित गण्डकी प्रदेशका तथा अन्य क्षेत्रका नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB_IMG_1760799132538.jpg

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका सक्रिय जिल्ला संस्थाहरू—स्याङ्गजा, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ, गोरखाले संयुक्त रूपमा भाग लिए। नेपालीहरुको महान पर्वहरू एकैसाथ, एकै छाना मुनि मनाउँदै देउसी भैलोको रमाइलो, सांगीतिक प्रस्तुति र नृत्यद्वारा सभाहलमा उत्सवको माहोल सिर्जना गरिएको थियो। गण्डकी क्षेत्रलाई कला, संगीत र सांस्कृतिक सम्पदाको केन्द्र मानिन्छ, त्यसैअनुसार प्रत्येक जिल्लाका कलाकारहरुले आफ्नो जिल्लाको पहिचान झल्काउने प्रभावशाली प्रस्तुति दिएका थिए।

FB_IMG_1760799128851.jpg

महिला तथा पुरुष सहभागिहरूका लागि सिट व्यवस्था पृथक गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरू र सहभागीहरूलाई क्रमसंख्याका आधारमा अन्तिमसम्म उपस्थित रहेकाहरूमध्ये गोला-प्रथाद्वारा पुरस्कार विजेताहरू चयन गरिए। पुरस्कार उपाध्यक्ष कल्याण थापा र अजुन संग्रौला द्वारा प्रदान गरिएको थियो।

FB_IMG_1760799126366.jpg

प्रमुख अतिथि आश बहादुर गुरुङले आफ्नो मन्तव्यमा प्रदेशको माया र अभिभावकत्वले उनलाई थप जिम्मेवार बनाएको बताउँदै संस्थालाई अझ चुस्त, सक्षम र सक्रिय राख्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा संयोजक रोशन अर्यालले वक्ताहरूको मन्तव्य कार्यक्रमको मूल विषयवस्तुमै सीमित रहनु भएको प्रति आभार व्यक्त गरे। कार्यक्रमको सहजीकरण प्रदेश महासचिव मन प्रसाद राना मगरले गरेका थिए।

 

यस कार्यक्रमले गण्डकी प्रदेशवासीसहित कतारमा बसोबास गर्ने नेपाली समुदायलाई सांस्कृतिक र राष्ट्रिय पर्वको भावना साझा गर्न एक अत्यन्तै प्रेरणादायी अवसर प्रदान गरेको छ।