महोत्तरीको सम्सीबाट १०५० कि.ग्रा. छोकडा र ३६ कार्टुन चकलेट प्रहरीको नियन्त्रणमा
महोत्तरी सम्सी असोज २,गते, महोत्तरी टुडे-
जिल्ला महोत्तरी अन्तर्गत सम्सी गाउँपालिका–७ खत्वे मण्डल टोलमा भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका छोकडा र चकलेट प्रहरीले बरामद गरेको छ।
मिति २०८२ साल असोज १ गते राति करिब १०:३० बजे, प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा यो सामान बरामद गरिएको हो।
प्रहरीका अनुसार, घरधनीको नाम नखुलेको माटोले बनेको फुसको घरभित्र चोरी–पैठारी गरी ल्याइएका वस्तुहरू लुकाएर राखिएको थियो।
सूचनाको सत्यता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली त्यस स्थानमा पुगेर तलासी गर्दा ठूलो परिमाणमा छोकडा र चकलेट फेला परेको हो।
उक्त घरभित्रबाट प्रहरीले २१ बोरा (१०५० कि.ग्रा.) छोकडा र ३६ कार्टुन चकलेट बरामद गरेको जनाएको छ। बरामद सामानको बजार मूल्य करिब रु. ९ लाख ५१ हजार बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीले जनाएको विवरण अनुसार, छोकडाको दर प्रतिकिलो रु. २२० र चकलेटको दर प्रतिकार्टुन रु. २०,००० कायम गरिएको छ।
प्रहरीले बरामद गरेको सामानलाई मिति २०८२ असोज २ गते आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा पठाएको छ।
भन्सार छली गरी ल्याइएका यी सामानहरू सम्भवतः तस्करीका लागि प्रयोग गरिन लागेको हुन सक्ने प्रहरीको आशंका छ।
स्थानीय बासिन्दाहरूका अनुसार, सीमावर्ती क्षेत्र भएकाले यस प्रकारका सामानहरूको चोरी–पैठारीको घटना विगत केही समयदेखि बढ्दै गएको छ। प्रहरी निकायले यस्ता गतिविधि नियन्त्रण गर्न सशक्त अभियान सञ्चालन गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक अधिकारीले भने,
“भन्सार छली गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिन र तस्करी नियन्त्रणमा सशक्त कदम चालिएको छ। सीमावर्ती क्षेत्रमा नियमित गस्ती र निगरानी बढाइएको छ।”
यस घटनासँग सम्बन्धित व्यक्ति वा समूहको पहिचान र संलग्नताको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
