गण्डकी प्रदेश समन्वय परिषद कतारद्वारा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना हुने

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार-

गण्डकी प्रदेश समन्वय परिषद कतारले “शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ।

 

गण्डकी प्रदेश समन्वय परिषद कतार र प्रदेशअन्तर्गतका ९ वटा सक्रिय जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमले विदेशमा रहेका नेपालीबीच एकता, आपसी माया र संस्कृतिप्रति गौरव बढाउने लक्ष्य लिएको छ।

 

बडादशैं, शुभ दीपावली, नेपाल संवत् र छठ पर्व–२०८२ को पावन अवसर पारेर आयोजना हुन लागेको यो कार्यक्रम आगामी १७ अक्टोबर २०२५ (शुक्रबार) का दिन दोहास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने तय गरिएको छ।

 

सम्बन्धित संघ–संस्था, समाजसेवी, व्यवसायी, कलाकार, मिडियाकर्मी तथा दोहामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा पठाइसकिएको वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले जानकारी दिनुभयो।

 

उहाँका अनुसार, कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। यसले दोहामा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ पार्ने अपेक्षा राखिएको आयोजक समितिले जनाएको छ।

 

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति, नृत्य, गीत–संगीत र शुभकामना आदान–प्रदान समेत रहनेछन्।