सोनमाको शिवनगरमा सडक मर्मत नहुँदा जनजीवन कष्टकर
नरेन्द्र महताे,महोत्तरी- महोत्तरी जिल्लाको दुर्गम क्षेत्रमा पर्ने सोनमा गाउँपालिकाका बासिन्दा लामो समयदेखि आधारभूत पूर्वाधार अभावको मारमा परेका छन् । गाउँपालिकामा ८ वटा वडा भए पनि वडा नं. ८ शिवनगरका स्थानीयवासीहरू सडक मर्मत नहुँदा निकै दु:खमा जीवन यापन गर्न बाध्य छन् ।
स्थानीयहरूका अनुसार संघीयता लागू भएदेखि अहिलेसम्म, २० वर्षभन्दा बढी समय भइसक्दा पनि शिवनगरको सडक मर्मत हुन सकेको छैन । यस कारण विद्यालय जाने विद्यार्थीदेखि किसान, बिरामी र सर्वसाधारण सबैलाई आवत–जावतमा निकै सास्ती बेहोर्नु परेको छ ।
शिवनगर वडा दुई गाउँ — सिहासनी र शिवनगर मिलेर बनेको हो । तर, सिहासनीतर्फ सडक मर्मत भइरहे पनि शिवनगरतर्फ राजनीतिक मतभेद र स्थानीय घिचातानका कारण सडक सुधारका काम अघि बढ्न सकेका छैनन् ।
२० वर्षअघि यो क्षेत्रमा गाउँभित्र सडकको चौडाइ करिब १२ फिट र गाउँभन्दा अगाडिको सडक २०–२५ फिटसम्म थियो । तर अहिले सडक अतिक्रमण र बेवास्ताका कारण गाउँभित्रका सडक ४–५ फिटमा, गाउँबाहिरका सडक ६–७ फिटमा सिमित भएका छन् ।
स्थानीयवासीहरूका अनुसार सडक दुबै तर्फबाट अतिक्रमण भइरहेकाले सडक साँघुरो हुँदै गएको छ, तर मर्मत गर्ने जिम्मेवारी कसैले नलिएको गुनासो छ ।
एक स्थानीय बासिन्दाले भने,
हाम्रासँग गाई, गोरु, भैंसी छन्, तर सडक साँघुरो भएकाले पशुहरूलाई घरबाट बाहिर निकाल्नै मुस्किल भइरहेको छ। सडक मर्मत गर्ने सोच कसैमा छैन।”
स्थानीयहरू अब गाउँपालिका र सम्बन्धित निकायले तत्काल पहल गरी सडक मर्मत र चौडाइ पुनःनिर्धारण गर्न माग गरिरहेका छन् ।
